हेटौँडा : पाँचौं बाख्रा दिवसको अवसरमा आइतबार हेटौँडामा आयोजित कार्यक्रम बोकालाई माला लगाएर उद्घाटन गरिएको छ । हेटौँडा–३ स्थित सिमलथली एग्रो प्रालिमा पालिएका बोकालाई बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले सयपत्रीको माला लगाएर कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटनपछि आयोजित नेपालमा बाखापालन व्यवसायको सम्भावना र चुनौति विषयक गोष्ठीमा मन्त्री पौडेलले सरकारले कृषकहरुलाई अनुदान दिँदा उत्पादनमा आधारित भएर दिने बताउनु भयो । उहाँले यसअघि बागमती प्रदेश सरकारले कृषकको नाममा वितरण गरेका अनुदानहरु वास्तविक कृषकहरुको हातमा भन्दा कागजी प्रक्रिया पु¥याएका गैरकृषकले पाएको भन्ने गुनासो रहँदै आएकोले मन्त्रालयले अबदेखि अनुदान दिँदा तीन प्रकारले मात्र प्रदान गर्ने बताउनुभयो । पहिलो उत्पादनमा आधारित भएर, दोस्रोमा युवा विशेषगरी शिक्षित युवाले सञ्चालन गरेको कृषि कार्यक्रमलाई र तेस्रोमा व्याज अनुदान मात्र दिने मन्त्री पौडेलले स्पष्ट पार्नु भयो । सरकारबाट पैसा मात्र असुल्ने र व्यवसाय नगर्ने मनोविज्ञान बढ्दै गएकोले नीतिमा सुधार ल्याउन लागेको मन्त्री पौडेलले बताउनुभयो ।
कार्यक्रममा नेपाल बाख्रापालक व्यवसायी महासंघका अध्यक्ष गोविन्द प्रसाद सुवेदीले सरकारी कार्यविधिले वास्तविक कृषकलाई भन्दा कागजी प्रक्रिया मात्र पूरा गर्ने नक्कली कृषकलाई अनुदान दिने आधार बनाएको आरोप लगाउनु भयो । यस्तै कृषक लक्षित अनुदान कार्यक्रम ल्याउन पनि कार्यविधिमा कृषकलाई दुःख दिने प्रक्रिया निर्माण गरेकोले कृषकमुखी कार्यक्रम सफल हुन नसकेको अध्यक्ष सुवेदीको भनाइ थियो । उहाँले बाख्रापालक कृषकहरुले बाख्राको बडकौंला प्राङ्गारिक मल बनाई प्याकेटमा बेच्दा बाख्राको दाना किन्ने बराबरको आर्थिक उपार्जन हुने भएपनि सरकारले ध्यान दिन नसक्दा मल प्याकेजिड्को काम गर्न नसकिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष एकराज उप्रेतीले सर्वसाधारणमा सरकारले दिने अनुदानको आधारमा व्यवसाय सुरु गर्ने भन्ने मनोविज्ञान बढ्दै गएकोले पेशा छनौट तथा सुरुवातपछि अनुदानको खोजी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तथा प्रदेश सरकारले अनुदानसँगै प्राविधिक तालिम तथा बजारीकरणमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका सहभागीहरुले पशुबीमामा मूल्यांकन रकम वास्तविक मुल्यभन्दा धेरै कम राखिने गर्दा कृषकहरु मर्कामा परेको बताएका छन् । कुनै पशु मरिसकेपछि बीमा रकम दावी गर्दा धेरै लामो, ढिलो प्रक्रिया तथा पटक–पटक धाउनुपर्ने पद्दतिले कृषकलाई धेरै असह्य बनाएको प्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी, नेपाल बाख्रापालक व्यवसायी महासंघका मकवानपुर अध्यक्ष बद्रीप्रसाद अधिकारी, कोशी प्रदेश पशु सेवा तालिम केन्द्र दुहबीका पशु चिकित्सक कुमार सिंह खत्री, नेपाल बाख्रा पालक व्यवसायी महासंघ कोशी प्रदेश उपाध्यक्ष घनश्याम वास्तोला, कृषि विकास बैंक हेटौंडा शाखाका प्रमुख नुरप्रसाद गौतम, मकवानपुर उद्योग वाणिज्य संघकी महासचिव प्रतिमा श्रेष्ठको आतिथ्य रहेको थियो ।











