हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोह सुरु भएको छ । विविध कार्यक्रमको आयोजना गरी मनाइँदै गरेको स्वर्ण महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्नुभएको छ ।

स्वर्ण महोत्सव समारोहको उद्घाटन कार्यक्रमअघि प्रभातफेरीको आयोजना गरिएको थियो । स्वर्ण महोत्सवको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । विद्यालय परिसरमा विद्यार्थीले शैक्षिक प्रदर्शनी तथा खाना महोत्सव समेत आयोजना गरिएको छ । स्वर्ण महोत्सवको अवसरमा पूर्वशिक्षक, पूर्वकर्मचारी, विशिष्ट स्थानमा पुगेका पूर्वविद्यार्थीलाई सम्मान समेत गरिँदैछ ।

स्वर्ण महोत्सवको अवसरमा पूर्वविद्यार्थीले आर्थिक सहयोग समेत गरेका छन् । वडाध्यक्ष तथा मूल समारोह समिति संयोजक विष्णुगोपाल महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कन्चन चन्द्र वादे, प्रदेश सभा सदस्य एका लाल श्रेष्ठ, भारती पाठक, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको पनि आतिथ्य रहेको थियो ।