हेटौँडा : बागमती प्रदेशको दुई जिल्लामा सवारी दुर्घटनामा एकैदिन २ जनाको मृत्यु भएको छ । शुक्रबार प्रदेशको सिन्धुपाल्चोक र सिन्धुलीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटेमा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो १२ बजेर ३० मिनेटको समयमा बलेफीबाट बन्देउतर्फ जाँदै गरेको बा प्र ०२–०२२ प ४७५४ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ अगाडि जाँदै गरेको बा प्र ०२–०१७ प ९५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा ४७५४ नम्बरको मोटरसाइकल चालक त्रिपुरासुन्दरी गाउँपालिका–४ का २३ वर्षीय सन्तोष गुवाजु घाइते भएका थिए । सन्तोषलाई उपचारका लागि सिन्धु सदावहार अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ । ९५२८ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै सिन्धुलीको दुधौली नगरपालिका–९, दुधौली बजारस्थित दुधौली–खोरभञ्ज्याङ भित्री सडकखण्डमा मिनी ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो ३ बजेर ४० मिनेटको समयमा दुधौलीबाट खोरभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ८५४७ नम्बरको मिनी ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००२ प १३७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक दुधौली नगरपालिका–८ का ५५ वर्षीय टिका सिंह तामाङ गम्भिर घाइते भएका थिए । घाइते टिकालाई उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली लगिएको थियो । उपचारका क्रममा दिउँसो करिब ४ बजेर २५ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । मिनी ट्रिपर चालक दुधौली नगरपालिका–१३ का ४४ वर्षीय राजकुमार सुनुवारलाई इलाका प्रहरी कार्यालय डकाहामा राखिएको छ ।











