थारु महोत्सवमा नृत्य गर्दै थारु महिलाहरु ।

हेटौँडा : हेटौँडामा आठौं थारु माघी महोत्सव सम्पन्न भएको छ । हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको खेलमैदानमा आठौँ थारु माघी महोत्सव सम्पन्न भएको हो । बिहीबार थारु कल्याणकारिणी सभाका कार्यकरिणी सभाका सभापति सचिदानन्द चौधरीको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा महोत्सव सम्पन्न भएको हो ।

थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले विगत ८ वर्षदेखि हेटौँडामा माघी महोत्सवको आयोजना गर्दौ आएको थारु कल्याणकारिणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । महोत्सवमा थारु समुदायका परम्परागत नृत्य, भेषभूषा, लोकसंस्कृति, खानपान तथा जीवनशैली झल्कने विविध कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रमको उद्घाटनमा स्थानीय झाँकीसहितको र्‍यालि निकालिएको थियो । र्‍याली भुटनदेवी माध्यमिक विद्यालयको गेटबाट सुरु भई स्कुलरोड, सिमाचोक, बुद्धचोक, कान्तिलोकपथ हुँदै पुनः भुटनदेवीको खेलमैदानमा पुगेर सभामा परिणत भएको थियो ।

महोत्सवमा ढकी दौड प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा कुन्ती चौधरी प्रथम, सकुन्तला चौधरी द्वितीय र सुनिता चौधरी तृतीय भएकी थिइन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २ हजार, १ हजार ५ सय र एक हजार प्रदान गरिएको थियो । प्रतियोगितामा ११ जना महिलाले भाग लिएका थिए ।

महोत्सव थारु कल्याणकारिणी सभा मकवानपुरको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको मुख्य प्रायोजनमा भएको थियो । संस्कृति मन्त्रालयको सह–प्रायोजन रहेको थियो भने विभिन्न उद्योगी तथा व्यवसायीको सहयोग रहेको थियो । महोत्सवमा थारु परिकार ५ वटा स्टल, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । महोत्सवमा थारु कल्याणकारीणि सभाकी केन्द्रीय समिति सदस्य जानकी चौधरी, वडाध्यक्षहरु नवीन सिग्देल, फुर्वा दोर्जे लामा, जुना दाहाल र पेम्बा लामाको आतिथ्य रहेको थियो ।