प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय ।

हेटौँडा : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको महवानपुरका लागि शुक्रबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा स्थापना गरिएको हो ।

हेटौँडा–११ स्थित प्रादेशिक कृषि तरकारी थोक बजारको भवनमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ र २ का लागि कार्यालय स्थापना गरिएको हो । निर्वाचन कार्यसम्पादन गर्नका लागि मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश गीता श्रेष्ठ र निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधीवक्ता देवेन्द्रराज आचार्यलाई नियुक्त गरिएको छ । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा श्रेष्ठ र निर्वाचन क्षेत्र २ मा आचार्यलाई खटाइएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि एवम् प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीले मुलुक निर्वाचनको माहोलमा प्रवेश गरिसकेको बताउनुभयो । उहाँले निर्वाचन सफल बनाउनुको विकल्प नरहेकाले सबै पक्षले जिम्मेवार भएर अघि बढ्नु पर्ने बताउनुभयो । प्रमुख सचिव अधिकारीले देशको राजनीतिलाई सही दिशामा लैजान निर्वाचन अपरिहार्य रहेको बताउनुभयो ।

यस्तै, मुख्य निर्वाचन अधिकृत श्रेष्ठले विषम परिस्थितिमा निर्वाचन सफल बनाउन सबै निकाय र सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाई छ । निर्वाचनको समयमा मिस–इन्फर्मेसन र डिस–इन्फर्मेसनबाट जोगिन र जिम्मेवारपूर्ण पत्रकारिता गर्न उहाँले सञ्चारकर्मीसँग आग्रह गर्नुभयो । निर्वाचनसँग सम्बन्धित सूचना प्रवाह, शान्ति–सुरक्षा लगायतका विषयमा सत्यतथ्य र जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्नुपर्ने उहाँको भनाई छ ।