मुलुकको सार्वजनिक यातायातको क्षेत्रमा धेरै समस्या र विकृति रहेको छ । सरकारले सार्वजनिक यातायात सुधारको लागि पर्याप्त लगानी तथा उपयुक्त नीतिगत व्यवस्था गर्न नसक्दा सार्वजनिक यातायात यात्रुमैत्री बन्न सकेको छैन । सार्वजनिक यातायातको उचित नियमनमा समेत सरकारले प्रभावकारी काम गर्न सकेको छैन । फलस्वरुप सार्वजनिक यातायातका साधनहरु सुलभ, सहज र भरपर्दो छैन । सार्वजनिक यातायातका चालक, सहचालक, व्यवसायी र विभिन्न समिति तथा कम्पनीहरु यात्रुमैत्री देखिँदैनन् । सार्वजनिक यातायात क्षेत्रमा विद्यमान बेथितिकै कारण सार्वजनिक यातायात साधन प्रयोग गर्ने यात्रुहरुले दुःख, कष्ट सहनु परिरहेको छ । चालकको लापरबाहीका कारण सार्वजनिक यातायातका साधनहरु दुर्घटना भएर यात्रुले अकालमा ज्यान गुमाउनु परेका घटनाहरु पनि प्रशस्तै छन् । गत हप्तामात्र हेटौँडा–काठमाडौं जोड्ने छोटो मार्गको भीमफेदी–कुलेखानी सडकखण्डको जुरिखेतमा सुमो जिप दुर्घटना भएर ६ जनाको ज्यान गएपछि यसले धेरैलाई झस्काएको छ ।

सार्वजनिक सवारी साधनका चालककै लापरबाहीले धेरै दुर्घटना हुन थालेपछि नियमनकारी निकायले पनि चासो देखाएको छ । मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र सवारी यान्त्रिक परीक्षण कार्यालय हेटौँडाको संयुक्त टोलीले सवारी चालकको सुरक्षाजाँचसँगै स्वास्थ्य परीक्षण गरेको छ । परीक्षणको क्रममा टोलीले लागूऔषध सेवन गरेर सवारी साधन चलाउने १२ जना चालकलाई पक्राउ गरेको गरेको छ । हेटौँडा–कुलेखानी–काठमाडौं सडकमा गुडेका एक सय ११ जना सवारी चालकको पिसाब परीक्षण गर्दा १२ जनालाई भीमफेदीबाट पक्राउ गरिएको हो । भीमफेदी अस्पतालका डा. प्रवीण पाठकसहितको टोलीले सवारी चालकको पिसाब परीक्षण गरेको थियो । पक्राउ परेका चालकमध्ये १० जना सार्वजनिक यातायात साधनका चालक रहेको प्रहरीको भनाइ छ ।

टोलीले सुरक्षा जाँच गर्ने क्रममा लागूऔषध सेवन गरेर सवारी साधन चलाएको पाइएपछि सुमो, ईभी भ्यान, बलेरो र विङ्गरजस्ता यात्रुबाहक सवारी साधनका चालकहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुई जना भने तरकारी र माछा बोक्ने सवारी साधन (योद्धा)का चालक रहेका छन् । नेपालमा मादकपदार्थ, लागूपदार्थ, सुर्तीजन्य पदार्थ सेवन नगर्ने सवारी चालक तथा सहचालक सायदै पाइएला । मादकपदार्थ र लागूपदार्थ सेवन गरेर सवारी चलाउनेहरुको संख्या पनि उल्लेख्य छ । मादकपदार्थ तथा लागूपदार्थ सेवन गरेर नसाको तालमा सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम उच्च हुने भएकाले सवारी चालक स्वयम् सचेत बन्नुपर्ने हो । प्रहरीले आक्कलझुक्कल गर्ने सुरक्षाजाँच र चेकिङबाट मात्र यो समस्या अन्त्य गर्न सकिँदैन ।

सबै सडकखण्डमा गुड्ने सवारी साधनलाई रोकेर मादकपदार्थ तथा लागूपदार्थ सेवन गरे÷नगरेको चेकिङ गर्नु व्यवहारिक र सम्भव हुँदैन । देशका विभिन्न क्षेत्रमा स्थायी चेकिङ प्वाइन्ट बनाएर लामो दुरीका सवारी साधन र त्यसका चालकको सुरक्षाजाँच गर्ने व्यवस्था गर्नु आवश्यक देखिन्छ । छोटो दुरीका सवारी साधनहरुको हकमा अप्ठेरो र दुर्घटनाको जोखिम बढी भएका सडकखण्डमा सुरक्षा जाँचलाई नियमित गराउनु उचित हुनेछ । सवारी साधन र चालकको अवस्था ठिक भयो भने पनि सवारी दुर्घटना कम गर्न सकिन्छ । सवारी साधन चलाउँदा पालना गर्नुपर्ने ट्राफिक नियम पालना गराउन पनि यस्ता सुरक्षाजाँचले सहयोग पु¥याउँछ । प्रहरीले ‘सरप्राइज चेकिङ’को साथै निश्चित क्षेत्रमा सवारी साधनको अवस्था, चालकको अवस्था, कागजपत्रको अवस्था, यात्रु तथा भारवहनको अवस्था सबै पक्षको नियमित र सघनरुपमा सुरक्षाजाँच गर्ने व्यवस्था मिलाउन सकेमा सार्वजनिक यातायातको अवस्था सुधार गर्न र दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने सम्भावना देखिन्छ ।