हेटौँडाः हेटौँडा–९ स्थित मानवसेवा आश्रम केन्द्रीय कार्यालय हेटौँडाले एक आर्थिक वर्षमा १ सय २ जनालाई उद्दार गरेको छ । आश्रमद्वारा बुधबार आयोजित सामाजिक लेखा परीक्षण कार्यक्रममा प्रगति प्रतिवेदन सार्वजनिक गर्दै आश्रमको मुख्य कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ मा १ सय २ जनालाई उद्दार गरेको जनाएको हो ।

गत आर्थिक वर्ष आश्रमको मुख्य कार्यालयमा आश्रितमध्ये ५३ जनाको पारिवारिक पुनर्मिलन भएको, २० जना स्वर्गीय भएको र ४० जना परामर्शपश्चात् स्वेच्छाले स्वावलम्बी भएर जिउने प्रतिबद्धतासहित आश्रमबाट बाहिरिएको आश्रमले जनाएको छ । आश्रमका प्रमुख रामजी अधिकारीले आश्रमबाट एक वर्षको अवधिमा १० जना पुनस्र्थापना भएको जानकारी दिनुभयो ।
हाल आश्रममा २ सय २० जना वयस्क र २३ जना बालबालिकासहित कुल २ सय ४३ जना संरक्षित छन् । आश्रमको देशभरका २१ जिल्लामा रहेका २९ वटा सेवा केन्द्रहरुमा २ हजार २८ जना संरक्षित रहेकोसमेत अधिकारीले जानकारी दिनुभयो ।

विसं २०६९ भदौ १३ गतेदेखि सुरुवात भएको मानवसेवा आश्रमले स्थापना कालदेखि हालसम्म १२ हजार ६ सय ७१ जनालाई सहयोगापेक्षी अवस्थामा विभिन्न स्थानबाट उद्दार गरिएको आश्रमले जनाएको छ । यीमध्ये आश्रमको मुख्य कार्यालयले मात्रै १ हजार २ सय ५४ जनालाई उद्दार गरेको थियो । यस कार्यालयमा संरक्षितमध्ये हालसम्म २ सय २८ जनाको मृृत्यु भइसकेको समेत कार्यक्रममा जानकारी दिइएको थियो ।

केन्द्रीय कार्यालयले हाल प्रशासनिक, आर्थिकलगायतका १८ वटा विभागबाट कार्य गरिरहेकोसमेत प्रमुख अधिकारीले बताउनुभयो । कार्यक्रममा आश्रमका वित्तीय विभाग प्रमुख चन्द्रराज गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आश्रमले आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न संस्थाहरुको दान तथा चन्दाबाट कुल १ करोड ७७ लाख ८९ हजार रुपैयाँ आम्दानी गरेको र आश्रम सञ्चालन, प्रशासनिकलगायत विविध खर्च गरी एक वर्षमा ३ करोड ९६ लाख रुपैयाँ खर्च भएको गुरुङले जानकारी दिनुभयो । गत आर्थिक वर्षसम्म आश्रमको १३ करोड ३२ लाख ७७ हजारको अचल सम्पत्ति तथा ४ करोड ४३ लाख ९९ हजार चल सम्पत्तिसहित कुल १७ करोड ९ लाख ४५ हजार बराबरको सम्पत्ति रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

एक वर्षमा हेटौँडा उपमहानगरपालिका, भीमफेदी गाउँपालिका, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मकवानपुरगढी गाउँपालिका, बकैया गाउँपालिका तथा श्री कृष्ण प्राथमिक विद्यालयबाट कुल ३२ लाख ५२ हजार सहयोग प्राप्त भएको आश्रमले जनाएको छ । कार्यक्रममा बागमती प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बच्चुराम फुयाँल, वरिष्ठ सञ्चारकर्मी प्रताप बिष्ट, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रिनाथ शर्मा, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटालगायतको उपस्थिति रहेको थियो ।