
हेटौँडा : हेटौँडा–११, थानाभर्याङमा रहेको क्षीरसागर दुग्ध विकास सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार संस्थाका अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्ष तथा वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यमा साधारणसभा भएको संस्थाका व्यवस्थापक देवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
साधारणसभामा सहकारीका लेखा समिति संयोजक कृष्णप्रसाद खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गत आर्थिक वर्ष २०८१/८२ मा २ करोड २५ लाख ९ हजार ७५८ रुपैयाँको कारोबार भएको उहाँले जानकारी दिनुभयो । संस्थामा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १ करोड ९८ लाख ७६ हजार ३२२ रूपैयाँको कारोबार भएको थियो ।
संस्थाको सेयरपुँजी ५ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको छ । साधारणसभामा बढी फ्याट र एसएनएफ भएको दूध बिक्री गर्ने सदस्यलाई उत्कृष्ट कृषक घोषणा गरी पुरस्कृत गरिएको थियो । धेरै परिमाणमा दूध बिक्री गरेका सदस्यहरुलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारस्वरूप संस्थाले दाना, क्याल्सियम, नाम्ले, जुकाको औषधि वितरण गरेको थियो ।
औसत ५ फ्याट र ८.७ एसएनएफ भएको दूध बिक्री गरेर पार्वती न्यौपाने उत्कृष्ट कृषक घोषित हुनुभएको थियो । २१ हजार २५५ लिटर दूध बेच्ने पूर्णकुमारी बस्नेत प्रथम, ८ हजार ८३० लिटर दूध बेच्ने बीएस कृषि तथा पशुपन्छी फर्म द्वितीय, ८ हजार २०७ लिटर दूध बेच्ने चन्द्रावती थापा तृतीय, ७ हजार ६४८ लिटर दूध बेच्ने मालती सापकोटा र ७ हजार १६६ लिटर दूध बेच्ने सावित्री हुमागाईं सान्त्वना हुनुभएको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा संस्थामा दुई लाख २९ हजार ४९१ लिटर दूध जम्मा भएको थियो । संस्थामा १२७ जना सेयर सदस्य रहेका छन् । कार्यक्रममा पूर्वअध्यक्ष बोजबहादुर पण्डितलगायत कार्यसमिति पदाधिकारीहरूको आतिथ्य रहेको थियो ।










