हेटौँडाको एक माध्यमिक विद्यालयमा कक्षा दसका १० जना एउटै सेक्सनमा अध्ययन गर्थे । अनुषा, विमर्श, चिराग लगायत अन्य । विद्यालयमा उनीहरू अब्बल विद्यार्थीका रूपमा चिनिन्थे तर उनीहरूको विशेषता राम्रो अङ्क मात्र होइन, पढाइप्रतिको सही सोच थियो । उनीहरूका लागि एसईई डर लाग्दो परीक्षा होइन, तयारी गरेर पार गर्नुपर्ने र लक्ष्यलाई चुम्ने एउटा चरण मात्र थियो ।
कक्षाकोठाको भित्तामा टाँसिएको एउटा पोस्टरले उनीहरूलाई सधैँ सम्झाइरहन्थ्यो, ‘एसईई सगरमाथाको यात्रा हो ।’ दसैँ जनाले त्यो वाक्यलाई गम्भीरतापूर्वक लिएका थिए । उनीहरूलाई थाहा थियो, सगरमाथा एकै दिन चढिँदैन, त्यसका लागि समय, योजना र धैर्य चाहिन्छ ।
परीक्षा नजिकिँदै जाँदा धेरै विद्यार्थीहरू तनावमा थिए । कतिले रातभर जाग्राम बसेर पढे, कतिले अन्तिम समयमा सबै पाठ सकाउने प्रयास गरे त कतिले अन्तिम अवस्थामा घरमै शिक्षक राखेर पनि पढ्न थाले तर अनुषा, विमर्श, चिराग, दिश्रेष, उज्ज्वल भने नियमित देखिन्थे । उनीहरू हरेक दिन निश्चित समय पढ्थे र पर्याप्त निद्रा लिन्थे । उनीहरू बुझ्थे, एसईईमा सफल हुन दिमाग स्वस्थ र ताजा हुनुपर्छ, थाकेको होइन ।
पढाइमा उनीहरू एक्लै अघि बढ्दैनथे । अनुषालाई गणित असजिलो लाग्दा विमर्श र चिरागले बुझाएर सम्झाइदिन्थे भने विमर्श, उज्ज्वल र चिरागलाई अनुषाले भाषाका नेपाली र सामाजिक विषयमा उत्तर लेख्ने सही ढाँचा अनि महत्वपूर्ण बुँदा छोटकरीमा नोट बनाइदिन्थिन् । उज्ज्वलले समय तालिका मिलाउने र पुराना प्रश्नपत्र अभ्यास गर्ने बानी सबैमा बसाले । उनीहरूले सिकेका थिए, एसईई व्यक्तिगत परीक्षा भए पनि तयारी सामूहिक रूपमा गर्दा सजिलो हुन्छ भनेर ।
उनीहरूले रटेर होइन, बुझेर पढ्न जोड दिए । प्रत्येक पाठपछि आफ्नै भाषामा मुख्य बुँदा लेख्थे । पुराना प्रश्नपत्रलाई परीक्षा हलजस्तै वातावरण र समय निकालेर अभ्यास गर्थे । यसले उनीहरूलाई प्रश्न देख्दा डर होइन, आत्मविश्वास दिलायो । उनीहरूलाई थाहा भयो कि एसईईमा आउने प्रश्नहरू नयाँ लागे पनि आधार उही पाठबाट आउँछन् भनेर ।
परीक्षाको दिन सबै जना फरक–फरक हलमा परे तर सबैको मन शान्त थियो । उनीहरूले प्रश्न ध्यान दिएर पढे । समय मिलाएर उत्तर लेखे । हतार नगरी उत्तरपुस्तिका बुझाए । त्यो दिन उनीहरूलाई महसुस भयो कि सही तयारीले डरलाई आत्मविश्वासमा बदलिदिन्छ भनेर ।
नतिजा प्रकाशित हुँदा २ जनाको नाम सर्वोत्कृष्ट अङ्क ल्याउने र अन्यको नाम उत्कृष्ट अङ्क ल्याउने सूचीमा थियो । शिक्षकहरू तथा अभिभावक पनि गर्वित थिए र अन्य विद्यार्थीहरू प्रेरित । सबैले एउटै प्रश्न सोधे, ‘एसईईमा यति राम्रो नतिजा कसरी सम्भव भयो त ?’
उनीहरूको उत्तर सरल थियो, ‘एसईई जित्ने रहस्य अन्तिम समयमा धेरै पढ्नु होइन, समयमै सही तरिकाले पढ्नु हो ।’
यसरी अनुषा, विमर्श, उज्ज्वल, चिराग, दिश्रेषले प्रमाणित गरे कि एसईई भाग्यको खेल होइन यो त योजना, नियमित अभ्यास, आपसी सहयोग र आत्मविश्वासको परीक्षा हो । जसले यी कुरा अपनाउँछ ऊ सगरमाथा जस्तै देखिने एसईईको शिखर पनि सजिलै चढ्न सक्छ ।
यसरी हेर्दा एसईई राम्रो अङ्क ल्याउन नियमित, अनुशासित र योजनाबद्ध अध्ययन अत्यन्तै आवश्यक हुन्छ । विद्यार्थीले सबैभन्दा पहिले पाठ्यक्रमलाई राम्रोसँग बुझ्नुपर्छ र त्यसअनुसार दैनिक पढाइको समयतालिका बनाउनुपर्छ । कठिन विषयहरूलाई बढी समय दिनु र सजिला विषयहरूलाई निरन्तर दोहोर्याउनु उपयोगी हुन्छ । पुराना प्रश्नपत्र, नमुना प्रश्न र अभ्यास सेटहरू समाधान गर्दा प्रश्नको ढाँचा, अङ्कभार र समय व्यवस्थापन सिक्नुपर्दछ । शिक्षकको निर्देशन पालना गर्नु, आफ्नै नोट तयार गर्नु र नियमित पुनरावृत्ति गर्नु सफलताको मुख्य आधार हो । साथै परीक्षा नजिकिँदा आत्मविश्वास कायम राख्नु, तनाव नियन्त्रण गर्नु र पर्याप्त आराम तथा स्वस्थ जीवनशैली अपनाउनु पनि राम्रो नतिजाका लागि अत्यन्तै महत्वपूर्ण हुन्छ ।











