नगर सभालाई सम्बोधन गर्नुहुँदै उपप्रमुख राजेश बानियाँ । तस्वीर ।


हेटौँडा : हेटौँडा उपमहानगरणलिकाको चालु आर्थिक वर्षमा साढे तीन करोड थप गर्दै बजेट संशोधन भएको छ । शुक्रबार सम्पन्न १८ औं नगरसभाले थप ३ करोड ४६ लाख ९० हजार रुपैयाँसहितको संशोधित तथा पुरक बजेट अनुमोदन गरेको हो ।

यसअघि आर्थिक वर्ष २०८२÷०८३ का लागि उपमहानगरपालिकाको १७औं नगरसभाले २ अर्ब ९० करोड तीन लाख १० हजारको कुल आय–व्यय बजेट अनुमान स्विकृत गरेको थियो । सो बजेटमा थप साढे तीन करोडसहित कुल २ अर्ब ९३ करोड ५० लाख बजेट शुक्रबारको नगर सभाले स्विकृत गरेको छ । गत भदौ २३ र २४ मा भएको जेन जी आन्दोलनमा भएको आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त उपमहानगरपालिकाको भवन, सवारी साधनहरू, वडा कार्यालयहरू र स्वास्थ्य केन्द्रहरु पुनर्निर्माणको खर्च जुटाउने उद्देश्यले भौतिक तथा अन्य विकास योजनाहरु कटौती गरी बजेट घटाउन कात्तिकदेखि नै विभिन्न समितिहरुमा छलफल चलाउँदै आएको थियो । तर बजेटको कुल परिमाण भने घट्नुको सट्टा बढेको देखिएको छ ।

नगरसभामा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै उपप्रमुख राजेश बानियाँले चालु आर्थिक वर्षको छ महिनामा संघीय सरकारबाट समानीकरण तथा सशर्त अनुदान तर्फ गरी ६२ करोड ७ लाख १९ हजार तथा प्रदेश सरकारबाट समानीकरण, सशर्त र समपुरक अनुदान तर्फ ५ करोड ६२ लाख ८७ हजार प्राप्त भएको जानकारी दिनुभयो । राजश्व बाँडफाँडतर्फ १६ करोड ४ लाख ६४ हजार रुपैयाँ र नगरको आन्तरिक स्रोत (कर र राजश्व) बाट गत वर्षको नगद मौज्दात गरी २१ करोड ४६ लाख प्राप्त भएको जानकारी दिनुभयो । कुल अनुमानको ३६.३० प्रतिशत आम्दानी भएको
नगरसभामा जानकारी दिएको छ । यस्तै प्रशासनिक खर्च तर्फ १९ करोड १४ लाख ९६ हजार (३०.७३ प्रतिशत) खर्च भएको बताइएको छ ।

बजेट संशोधन गर्दै जेन जी आन्दोलनले क्षति पु¥याएका कार्यालयहरुका लागि कार्यालय सामग्री तथा उपकरण, फर्निचर लगायत प्रशासनिक खर्चतर्फ १३ करोड १९ लाख ५६ हजार तथा तोडफोडको भौतिक संरचना पुनर्निर्माणका लागि २१ करोड ६८ लाख ५० हजार ६ गत वर्षको दायित्व भुक्तान गर्न नपुग ५ करोड ८० लाख २३ हजार गरी कुल बजेट ४० करोड ६६ लाख ३० हजार थप बजेट सभासमक्ष पेश भएको थियो । उपमहानगरलाई प्राप्त हुने अनुदान तथा राजश्वले कुल खर्च धान्न नसक्ने हुँदा पूर्वाधार विकासका योजनाहरू कटौति गर्नुपरेको उपप्रमुख बानियाँले बताउनु भयो ।
६४ करोड १४ लाख ११ हजार अर्थात २२.११ प्रतिशत वर्ष भारको उपप्रमुख बानियाँले जानकारी दिनुभयो । नगरसभालाई सम्बोधन गर्नुहुँदै उपमहानगर प्रमुख मिना कुमारी लामाले यस वर्ष जेनजी आन्दोलनको क्षतिको पुनःनिर्माण तथा राष्ट्रिय राजमार्ग सडक विस्तारको क्रममा व्यवसायीहरु विस्थापित हुँदा राजश्व समेत घट्न गएको बताउनुभयो ।

विवादरहित हुन सकेन सभा
गत पुस ११ गते तोकिएको नगरसभा बजेट बाँडफाँडको कुरामा सहमति जुट्न नसक्दा अनिश्चत बनेको थियो । पुष २२ गते बसेको कार्पालिका बैठकले सबै विषयमा सहमति भई नगरसभा गर्ने मिति तोकेपनि शुक्रबार सहजै सभा बस्न सकेन । वडाअध्यक्ष तथा सबै जनप्रतिनिधिहरु आफ्ना वडामा परेका आफ्ना योजनाहरु कटौती गर्न नचाहने र नगरपालिकाले अन्य विकास बजेट कटौति गर्दै पुनर्निर्माणमा जोड दिन चाहने हुँदा शुक्रबार १ बजे तोकिएकोमा ४ बजेपछि मात्रै बसेको थियो । नगरसभाका सदस्य ९७ जना मध्ये ६७ जना सदस्यले उपस्थिति हस्ताक्षर गरिसकेको भएपनि सभा सुरु हुन सकिरहेको थिएन । अन्तिममा कार्यपालिकाको तत्काल बैठक बसी वडाहरुलाई योजना बजेट साढे तीन करोड थप्ने सहमति भएपछि मात्र नगरसमा बसेको थियो ।