हेटौँडा : बागमती प्रदेश सरकारले विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । गत पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघीय सरकारबाट आएका सहसचिव (प्रदेश सचिव) र प्रदेशका ११औं तहका सचिवहरुको सरुवा तथा पदस्थापन गरिएको हो ।
पुस १६ मा निर्णय भएपनि मुख्यमन्त्री इन्दबहादुर बानियाँ र प्रमुख सचिव बाबुराम अधिकारी बीच छलफलपछि पुस २४ गते बिहीबार उहाँहरुको जिम्मेवारी तोकिएको हो । निर्णयअनुसार युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सचिव बलराम ढकालको राष्ट्रपति कार्यालयमा सरुवा भएकाले रिक्त सो पदमा संघीय सरकारबाट सरुवा भई आउनु भएकी गोमा होमागाईलाई जिम्मेवारी तोकिएको छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा कार्यरत सचिव हेमराज भुसाललाई श्रम, रोजगार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ भने हेमराज भुसालको स्थान (उद्योग मन्त्रालय) मा जिवलाल भुषाललाई जिम्मेवारी दिइएको छ ।
यसअघि श्रम मन्त्रालयमा कार्यरत सचिव रामबाबु पुरीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । सचिव रामबाबु पुरीको जिम्मेवारी ४३ दिनमै फेरबदल भएको हो । गत मंसिर ३ मा प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएका सचिव पुरीको पुस १६ मा नै सरुवा गरिएको हो । ४३ दिन सो मन्त्रालयमा काम गरेका सचिव पुरीलाई दोहोरो जिम्मेवारी दिइएको छ । उहाँलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।
यातायात कार्यालय बालाजुको ट्रायल सेन्टर टेण्डरको क्रममा श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले आफूलाई असहयोग गरेको भन्दै सचिव पुरीलाई मन्त्रालय छाडेर जान भनेका थिए । ट्रायल सेन्टरको विवादका कारण मन्त्री थापाको प्रवृत्तिका कारण सचिव पुरी आफ्नो जिम्मेवारी फेरिदिन प्रमुख सचिव बाबुराम अधिकारी समक्ष पुग्नुभएको थियो । सचिव पुरीको आग्रहमा प्रमुख सचिव अधिकारी र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले करिव एक साताको छलफल पछि दोहोरो जिम्मेवारी दिने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ल्याइएको हो । सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत खुविराम अधिकारीलाई सामाजिक विकास मन्त्रालयमा पठाइएको छ ।











