हेटौँडा : मकवानपुरमा आगामी सोमबारदेखि ‘जिल्ला म्याथमेटिकल ओलम्पियाड (डिएमओ)’ सुरु हुने भएको छ । म्याथमेटिकल एसोसिएसन अफ नेपाल बागमतीको आयोजनामा विद्यालयहरूको अनुकूलताअनुसार पुस २८, माघ ६ र माघ ११ गते प्रतियोगिता हुन लागेको हो ।
आगामी जुलाई १० देखि २० तारिखसम्म चीनमा हुने ६७ औँ अन्तर्राष्ट्रिय म्याथमेटिकल ओलम्पियाड (आइएमओ) का लागि यो पहिलो चरणको देशव्यापी छनोट परीक्षा हो । जिल्लास्तरको परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरू प्रदेश हुँदै राष्ट्रियस्तरको नेपाल म्याथमेटिकल ओलम्पियाडमा सहभागी हुन पाउनेछन् । राष्ट्रिय परीक्षामा उत्कृष्ट ६ भित्र पर्ने विद्यार्थीहरूले चीनमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने म्याथमेटिकल एसोसिएसन अफ नेपाल बागमतीका सचिव किशन बास्तोलाले जानकारी दिनुभयो ।
जिल्ला ओलम्पियाडमा सामुदायिक तथा निजी विद्यालयका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुन पाउनेछन् । प्रत्येक कक्षाबाट कम्तिमा ३ जना विद्यार्थी सहभागी हुनुपर्नेछ भने प्रतिविद्यार्थी दर्ता शुल्क ५ सय रुपैयाँ तोकिएको छ । एक पटक दर्ता शुल्क तिरेपछि अन्तिम प्रतियोगितासम्म थप शुल्क नलाग्ने आयोजकले जनाएको छ ।
हेटौँडा बजार क्षेत्रका विद्यालयका लागि हेटौँडा–४ स्थित पेन्टागन एकेडेमीमा परीक्षा केन्द्र तोकिएको छ भने अन्य विद्यालयका हकमा सम्बन्धित पालिकाले पायक पर्ने स्थानमा परीक्षा केन्द्र राख्न सक्नेछ । परीक्षामा ५० वटा बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन्, जसमा ५० प्रतिशत अंक ल्याउने विद्यार्थी प्रदेश ओल्मपियाडका लागि छनोट हुनेछन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने विद्यार्थीले विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउने सचिव बास्तोलाले बताउनुभयो । प्रतियोगिताले विद्यार्थीहरुको तार्किक सोच क्षमता, समस्या समाधान क्षमता, सिर्जनशीलता तथा विश्लेषण क्षमता विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । इच्छुक विद्यार्थीले अनलाइनमार्फत वा हेटौँडा अनुसन्धान तथा आविष्कार केन्द्रमा सम्पर्क गरी नाम दर्ता गराउन सक्नेछन् ।










