पत्रकार सम्मेलनको क्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का विरोध खतिवडा ।

हेटौँडा : चार पटक सांसद बनेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का विरोध खतिवडाले चुनाव नलड्ने घोषणा गर्नुभएको छ । उहाँले बुधबार पत्रकार सम्मेलन गरी चुनाव नलड्ने बताउनु भएको हो ।
पार्टीभित्र मकवानपुर निर्वाचन क्षेत्र १ कि २ बाट चुनाव लड्ने चर्चा चलिरहेको बेला उहाँले यस्तो जानकारी दिनुभएको छ । पार्टीले गत पुस १३ गते मकवानपुर जिल्लाबाट खतिवडाको नाम दुबै क्षेत्रबाट सिफारिस गरिसकेको छ ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका खतिवडाले आफू चुनाव नलडे पनि राजनीतिबाट अहिले विश्राम नलिने बताउनुभयो । उहाँले पछिल्लो समय पटक–पटक नेतृत्वमा नयाँ अनुहार चाहियो भनेर कुरा उठिराखे पनि जेनजी आन्दोलनपछि यो कुरा चर्को रुपमा उठेकाले आफू अब चुनाव नलड्ने बताउनुभयो । पार्टीको नेतृत्वबाट कुनै समस्या नभए पनि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको सम्मानमा यो निर्णय लिएको र आफू अब अभिभावक भएर पार्टी निर्माणमा लाग्ने उहाँको भनाइ छ ।

विसं २०४३ सालदेखि निरन्तर मकवानपुरबाट निर्वाचन लड्नु भएका उहाँले चार पटक विजय र दुई पटक पराजय भोग्नु भएको छ । उहाँ २०४३ को राष्ट्रिय पञ्चायतको निर्वाचन र २०७९ को निर्वाचनमा पराजित हुनुभएको थियो । उहाँ विषेशगरी मकवानपुरको उत्तर र पश्चिममा पर्ने मकवानपुर–२ को भूगोलबाट निर्वाचन लड्दै आउनु भएको हो ।

४ पटक चुनाव जिते पनि खतिवडाले मन्त्री बन्ने अवसर २०७८ मा पहिलो पटक पाउनु भएको थियो । पत्रकार सम्मेलनमा बोल्नु हुँदै उहाँले आफू मन्त्री हुँदा चित्लाङमा मदन भण्डारी प्राविधिक विश्वविद्यालय सञ्चालन गराएको बताउनुभयो ।

विसं २०४३, २०४८, २०५१, २०५६, २०७४ र २०७९ गरी ६ पटक चुनावी प्रतिस्पर्धा गर्नुभएको खतिवडाले २०६४ र २०७० मा भने उम्मेदवार बन्ने अवसर पाउनु भएको थिएन । वर्तमान सुशीला कार्की नेतृत्वको सरकार विशेष परिस्थितमा बनेकाले कानुनी दाउपेचको आधारमा संसद पुनः स्थापनाको कुरा अस्वभाविक रहेको उहाँको भनाइ छ । नेपाली कम्युनिष्ट पार्टीलगायत अन्य पार्टीहरु निर्वाचनको पक्षमा भए पनि नेकपा एमालेले आसन्न प्रतिनिधसभा निर्वाचन भाँड्ने प्रयास गरिरहेको उहाँले आरोपसमेत लगाउनु भयो ।