हेटौँडा : राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशबाट ६ जनाले मनोनयन दर्ता गरेका छन् । बागमती प्रदेश तर्फको २ सिटका लागि सत्ता गठबन्धन, नेकपा र नेमकिपाको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
बागमती प्रदेश सभातर्फ महिला र अन्य क्लस्टरमा हुने निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेसबाट एक महिला र एमालेको तर्फबाट पुरुष उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसले महिला क्लस्टरमा चितवनकी गीता देवकोटाले उम्मेदवार बनाएको थियो । सत्ता गठबन्धनको तर्फबाट उहाँले बुधबार हेटौंडा–५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभयो । बागमती प्रदेशसभा सदस्य किरण थापा प्रस्तावक र रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा समर्थक रहेर देवकोटाको उम्मेदवारी दिनुभएको हो ।
त्यस्तै एमालेका तर्फबाट अन्य क्लस्टरमा डा. प्रेमप्रसाद दंगालले उम्मेदवारी दर्ता गर्नुभएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका डा. दंगालको प्रस्तावक बागमती प्रदेश सभा सदस्य एवम् प्रदेशकी सहकारी तथा गरिवी निवारण मन्त्री विनु रायमाझी र समर्थक मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा रहनु भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रेम सापकोटा (राजेन्द्र) ले उम्मेदवारी दर्ता गराउनुभएको छ । अन्य क्लस्टरमा उम्मेदार बन्नुभएका उहाँको प्रस्तावकमा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी र बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री समर्थक हुनुहुन्छ । सापकोटा माओवादी केन्द्र समर्थक हुनुहुन्छ ।
नेकपाको तर्फबाट महिला क्लस्टरमा सरोज कुमारी झाले उम्मेदवारी दर्ता गराउनुभएको छ । झाको प्रस्तावक हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा र समर्थक मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर रहनुभएको छ । झा एकीकृत समाजवादीमा आवद्ध हुनुहुन्छ । त्यसैगरी राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट २ जनाले मनोनयन दर्ता गरेका छन् । बागमती प्रदेश तर्फको अन्य क्लस्टरमा विक्रम ढुकुछु र महिला क्लस्टरमा कविता महर्जनले मनोनयन दर्ता गर्नुभएको छ । प्रस्तावक सुनिल प्रजापति र रजनी जोशी समर्थनमा ढुकुछुले मनोनयन दर्ता गर्नुभएको हो भने महिला तर्फकी उम्मेदवार महर्जनको प्रस्तावक सुरेन्द्रराज गोसाई र सृजना सायजुको समर्थनमा महर्जनले मनोनयन दर्ता गराएकी हुन् ।
आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा साझेदारी गरेका एमाले र कांग्रेसको बहुमत पुग्ने भएको छ । १८ पदका लागि हुने निर्वाचनमा बागमती प्रदेशबाट २ जना सदस्यहरुको पदावधी रिक्त हुने र सो पदमा निर्वाचन हुने तयारी भइरहँदा एमाले र कांग्रेसले गठबन्धन हुँदा कुल मतदाताको बहुमत कायम हुने देखिएको छ ।
बागमती प्रदेशबाट अन्य क्लस्टरका बेदुराम भुषाल र गंगाकुमारी बेलवासेको पदावधी आगामी फागुनमा सकिँदैछ । बागमती प्रदेशको चुनावी अंकगणित अनुसार ११० सदस्यीय प्रदेश सभा र ११९ स्थानीय तह रहेको बागमती प्रदेशमा दलहरुको मतभार गठबन्धनको बहुमतको स्थितिमा रहेको हो । बागमती प्रदेशको कुल मतदाता ११० प्रदेश सभा सदस्य र २३८ स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी ३४८ रहेको छ । एक जनप्रतिनिधि भने भ्रष्ट्राचार मुद्दाका कारण मतदानमा सहभागी हुन पाउने छैनन् । जसले कुल मतदाता संख्या ३४७ कायम रहेको छ ।
बागमती प्रदेश सभातर्फको ११० सदस्य र २३७ स्थानीय तहका प्रतिनिधिहरुको कुल मतभार १० हजार ३३३ रहेको छ । सो मतभारमा प्रदेशसभाका सदस्यको मतभार (५३ को दरले) ५ हजार ८३० र स्थानीय तह मतभार (१९ का दरले) ४ हजार ५०३ हुन आउँछ ।
बागमती प्रदेशमा नेपाली कांग्रेस ४ हजार १३ मतभारसहित पहिलो दलको रुपमा रहेको छ । कांग्रेससँग प्रदेश सभामा ३७ सिट छ भने स्थानीय तहतर्फ १०८ प्रमुख तथा उपप्रमुखहरु रहेका छन् । कांग्रेसको एक जनप्रतिनिधि भने भ्रष्ट्राचार मुद्दाका कारण निलम्बित रहेकाले कुल संख्या १४५ रहेको छ । सो निर्वाचनमा कांग्रेससँग प्रतिस्पर्धा गर्न अन्य दलहरुलाई कठिन देखिन्छ ।
तथ्यांक अनुसार नेकपा एमाले २ हजार ५७१ मतभारका साथ दोस्रो स्थानमा छ । गठबन्धन हुँदा एमाले कांग्रेसको कुल मतभार ६ हजार ५६५ पुग्दछ । जुन कुल मतभारको स्पष्ट बहुमत हो । गटबन्धन हुँदा एमाले कांग्रेसको कुल प्रदेश सभा सदस्य ६४ र स्थानीय तहमा १६७ प्रतिनिधि रहने छन् । नेकपा माओवादी केन्द्र २ हजार १९६ मतभार र नेकपा एकीकृत समाजवादी ५४२ मतभार रहेको छ । हाल माओवादी केन्द्र र एकीकृत समाजवादी एकतामा रहेका छन् । जसले उनीहरुको मत भार २ हजार ७३८ हुन आउँछ ।
प्रदेश सभामा १३ सिट भए पनि स्थानीय तहमा कमजोर पकडका कारण राप्रपाको कुल मतभार ७०८ मात्र रहेको छ भने नेमकिपाको १९७, हाम्रो नेपाली पार्टीको १०६ र स्वतन्त्र उम्मेदवारको १९ मतभार रहेको छ । बागमती प्रदेशमा एमाले माओवादी र एकीकृत समाजवादीसहितको गठबन्धन कायम रहेमा उनीहरुको पक्षमा कुल मतभार ५ हजार ३०९ पुग्छ ।











