हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुली, रामेछाप र काभ्रे जिल्लामा मंगलबार ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–६ रातामाटामा लडी घाइते भएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्ला गौशाला नगरपालिका–८ कुस्माडी घर भई रातामाटस्थित पाहुना आएका ६८ वर्षीय तेजबहादुर बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार राती ८ बजेको समयमा बस्नेत बाथरुममा अचानक लडेर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएकोमा उपचारका क्रममा राती ८ बजेर ४० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
रामेछापको सुनापती गाउँपालिका–३ डोग्मामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । मृत फेला पर्नेमा ७० वर्षीया साहिली घिसिङ रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार राती ८ बजेर २० मिनेटको समयमा पुडिखोला जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् ।
काभ्रेको पनौती नगरपालिका–१, खानिखोलास्थित सडकमा लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पनौती–१, माझगाउँ बस्ने २७ वर्षीय बिजेन्द्र तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार बिहान ८ बजेको समयमा तामाङ कुशादेवी (ललितपुर) भित्री सडकखण्डमा मृत अवस्थामा फेला परेका थिए । तामाङ टाउकोको पछाडि सानो चोट देखिएकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











