हेटौँडा : हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस र पोखराको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसबीच अन्तरक्रिया कार्यक्रम भएको छ । मंगलबार मकवानपुर बहुमुखी क्याम्पसमा आयोजित अन्तरक्रिया कार्यक्रममा दुबै क्याम्पसका सञ्चालक समिति पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूको सहभागिता रहेको मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख यम सिलवालले जानकारी दिनुभयो ।
कार्यक्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भ्रमण टोलीले मकवानपुर बहुमुखी क्याम्पसको शैक्षिक, भौतिक तथा प्रशासनिक पूर्वाधार अवलोकन गर्दै क्युएए प्रक्रिया र शैक्षिक गुणस्तर अभिवृद्धिबारे छलफल गरेको सिलवालले जानकारी दिनुभयो । दुबै क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्रमाणपत्र प्राप्त गरिसकेका छन् भने हाल पुनःप्रत्यायन प्रक्रियामा रहेका छन् । अन्तरक्रियाले आपसी सिकाइ र सहकार्यलाई थप बल पुगेको जनाइएको छ ।
मकवानपुर र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसबीच तीन वर्षदेखि शैक्षिक सहकार्य हुँदै आएको भए पनि सञ्चालक समिति तहमा यो पहिलो संयुक्त कार्यक्रम भएको प्रमुख सिलवालले जानकारी दिनभयो । आ–आफ्नो प्रदेशका गुणस्तरीय सामुदायिक क्याम्पसका रूपमा स्थापित हुने लक्ष्यसहित अघि बढिरहेका दुबै क्याम्पसले यस्ता अन्तरक्रियाले आपसी सिकाइ र शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको बताएका छन् ।











