राष्ट्रिय सभा सदस्य उम्मेदवार गीता देवकोटा ।

हेटौँडा : आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसले बागमती प्रदेश तर्फको एक सिटमा चितवनकी गीता देवकोटालाई उम्मेदवार बनाएको छ । माघ ११ मा हुने निर्वाचनमा नेपाली कांग्रेसले चितवनको महासमिति सदस्य रहेकी देवकोटा पेशाले मौरीपालक कृषक हुन् ।

रत्ननगर नगरपालिका–१४, डुम्रीचोककी देवकोटालाई ३२ वर्षे राजनीतिक यात्रामा पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् । कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन भएकी देवकोटा विगत ३२ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय छिन् । देवकोटाले उम्मेदवारीलाई उनको लामो राजनीतिक संघर्ष र सामाजिक योगदानको रुपमा लिएको बताइन् ।

कांग्रेसको वडा तहको सदस्यबाट सुरु भएको उनको राजनीतिक यात्रा महिला संघ, नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरुण दल हुँदै जिल्ला पार्टीका विभिन्न तहगत संगठनहरुमा सहभागी छिन् । उनी यसअघि दुई पटकसम्म महाधिवेशन प्रतिनिधि भइसकेकी छिन् । गीताले २० वर्षको उमेरमै पति गुमाएकी थिइन् । गीताका श्रीमान् नेपाल वायुसेवा निगममा कार्यरत थिए । २०४९ सालमा कार्यालयबाट घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । कलिलो उमेरमा श्रीमान् गुमाएकी उनले राजनीति र पेशालाई आफ्नो शक्तिमा परिणत गरिन् ।

उनी व्यावसायिक रुपमा मौरी पालन गर्छिन् । हाल उनीसँग १३० घार मौरी छन् । कुनै समय उनले २०० घारसम्म मौरी पालेकी थिइन् । उमेर बढ्दै गएकाले अहिले संख्या केही घटाएको उनको भनाई छ । २०२९ सालमा रत्ननगरमा जन्मिएकी देवकोटाले कक्षा १० सम्मको औपचारिक शिक्षा हासिल गरेकी छिन् । उनी आफ्ना राजनीतिक अनुभव र सामाजिक भोगाइ नै आफ्नो सबैभन्दा ठूलो योग्यता भएको बताउँछिन् ।