राष्ट्रिय लिग खेल्ने अस्मिर र असरफको तस्वीर ।

हेटौँडा : हेटौँडाका अस्मिर गोङ्बा र असरफ शेखले अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको राष्ट्रिय लिग फुटबल खेल्ने भएका छन् । हेटौँडा–१४ का गोङ्बा र हेटौँडा–११ का शेखले प्रतियोगिता खेल्ने पक्का भएको हेटौँडा फुटबल एकेडेमीका प्रशिक्षक एवम् अध्यक्ष भीम लामाले जानकारी दिनुभयो ।

शुक्रबारदेखि सुरु हुन लागेको प्रतियोगिताका लागि काठमाडौंको ‘ए’ डिभिजन क्लब फ्रेण्डस क्लबमा गोङ्बा र मनाङ मस्र्याङ्दी क्लबमा शेख अनुबन्ध भएका हुन् । उनीहरु विगत ६ वर्षदेखि हेटौँडा फुटबल एकेडेमीसँग जोडिएका छन् । उनीहरुले यु–१४ बाट एकेडेमी आवद्ध भई प्रशिक्षण थालेको प्रशिक्षक लामाले बताउनुभयो । दुबै जना गोलरक्षक खेलाडी हुन् । यसअघि हेटौँडा फुटबल एकेडेमीबाट उनीहरु विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका प्रतियोगिताहरु खेलिसकेका छन् ।

गत कात्तिक र मंसिरमा हेटौँडामा भएको एन्फा प्रेसिडेन्ट लिग–२०८२ मा सेमिफाइनल खेलेका लालीगुराँस एसोसिएसन क्लब, काँक्रेविहार युथ क्लब, चित्लाङ फुटबल क्लब र नवजनजागृति युवा क्लबसहित प्रतियोगितामा १७ वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टोलीले अर्को वर्ष हुने एएफसी क्लब प्रतियोगितामा सहभागी हुन पाउनेछ ।