विद्यालयलाई बस हस्तान्तरण गर्दैको तस्वीर ।

हेटौँडा : हेटौँडा–१८, हर्नामाडीमा रहेको ज्योति माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा विद्यालय बस हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको सभाध्यक्ष तथा हेटौँडा महानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र काफ्लेले जानकारी दिनुभयो ।

विद्यालयलाई सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले बस खरिदका लागि २५ लाख रुपैयाँ प्रदान गरेको थियो । त्यस्तै नपुग २५ लाख हेटौँडा उपमहानगरपालिकाले प्रदान गर्ने प्रधानाध्यापक काफ्लेले बताउनुभयो । विद्यालय बसको साँचो प्रमुख अतिथि मीनाकुमारी लामा र विशिष्ट अतिथि बागमती प्रदेश सरकार मातहतको शिक्षा विकास निर्देशनालयका महानिर्देशक गोपालप्रसाद कँडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेल र प्रधानाध्यापक काफ्लेलाई हस्तान्तरण गर्नुभयो । विद्यालयले प्राप्त गरेको बसले ठूलोदमार, फुर्केचौर, एक्लेखेत, दोभानौर, बुलबुले क्षेत्रका विद्यार्थीलाई सहजता हुने प्रधानाध्यापक काफ्लेले बताउनुभयो ।

कार्यक्रममा विद्यालयको वार्षिक खेलकुद कार्यक्रम अनुसार सञ्चालन गरिएको प्रतियोगितामा विधागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कत गरिएको थियो । विद्यालयले वार्षिक खेलकुद अन्तर्गत बालविकास कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई कक्षागत रूपमा बेलुन फुटाई, सियो–धागो, विद्यार्थी–अभिभावक दौड लगायतका खेलकुद सञ्चालन गरेको थियो । यस्तै ६ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीबीच फुटबल, भलिबल, कबड्डी, ज्याभलिङ थ्रो, एक सय मिटर दौड लगायतका खेलहरू सञ्चालन गरिएको थियो । विद्यार्थीलाई पुरस्कार स्वरूप मेडल र प्रमाणपत्र वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा १८ नम्बर वडा अध्यक्ष अनिल कुमार बानियाँ, शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका अधिकृत होम बहादुर नेपाली, विभिन्न राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्था, सामुदायिक वन उपभोक्ता समितिका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल ९ सय ४५ जना विद्यार्थी अध्ययनरत छन् ।