विजयी खेलाडीलाई पुरस्कार वितरणपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : खुला दौड प्रतियोगितामा दाङ जिल्लाको महेन्द्रनगरका दीपक रावल प्रथम भएका छन् । शनिबार बकैया गाउँपालिकामा भएको ५ किलोमिटर खुला दौड प्रतियोगितामा रावल प्रथम भएको बकैया एथ्लेटिक्स संघका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

बकैयाको ७ नम्बर वडा कार्यालय र गाउँपालिकाको समन्वयमा हात्तीखोला युवा क्लबले प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा बकैया एथ्लेटिक्स संघको प्राविधिक सहयोग रहेको थियो ।
प्रतियोगितामा प्रथम भएका रावलले १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा द्वितीय भएका काठमाडौंका नागेश्वर अहिरले १० हजार र तेस्रो भएका सिरहाका सलमान शेखले ५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा चौथो र पाचौँ स्थान हासिल गर्नेले क्रमशः ३ हजार र २ हजार तथा छैटौँ र सातौँ स्थान हासिल गर्नेले समान १÷१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिता ५१ जना खेलाडीको सहभागिता थियो । प्रतियोगितामा दौड पूरा गर्ने १३ वर्ष मुनिका दुई जनालाई १/१ हजार रुपैयाँ र मेडलसहित उदयमान खेलाडीको रुपमा पुरस्कृत गरिएको एथ्लेटिक्स संघका अध्यक्षका तिमल्सिनाले जानकारी दिनुभयो । उदयमान खेलाडीका रुपमा स्थानीय आकाश तिमल्सिना र बाराको साहिल देवान पुरस्कृत भएका हुन् ।

यस्तै, भेट्रान्सतर्फ ३ किलोमिटरको दौड प्रतियोगिताको आयोजना गरिएको थियो । ३ किलोमिटर दौड प्रतियोगितामा १० जना खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा भक्तबहादुर लामा पहिलो, छोटेलाल जिम्बा दास्रो र विमल नेपालले तेस्रो स्थान हासिल गर्न सफल भए । उनीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने र बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको उपस्थिति रहेको थियो ।