हेटौँडा : मकवानपुरको भीमफेदीस्थित जुरिखेतमा भएको सुमो दुर्घटनामा मृत्यु हुने ६ जना मध्ये ३ जनाको सनाखत भएको छ । दुर्घटनामा परेर मृत्यु भएका ५ पुरुष र एक महिला रहेका छन् ।
प्रहरीका अनुसार मृतक महिला हेटौंडा–४ की सविता लम्साल रहेकी छिन् । लम्साल हेटौंडा–४ स्थित नवोदय शिशु सदनकी शिक्षक भएको बताइएको छ । त्यस्तै दुर्घटनामा हेटौंडा–२ का अन्दाजी ३० वर्षका निखिल अग्रवालको पनि मृत्यु भएको छ । भारत विहारका ५६ वर्षका अरविन्द कुमारको पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतक ३ जनाको सनाखत हुन बाँकी रहेको छ भने घाइते अन्य ३ जनाको उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका सुमो चालक बागमती गाउँपालिकाको झुरझुरे घर भई हाल हेटौँडा–४, गर्दोइ बस्ने गणेश थापा, एक बालक र एक किशोरीलाई थप उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज पठाइएको छ । घाइते बालक मृतक सविताकै छोरा हुन् ।











