हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाका कोरोना सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान (कन्ट्याक्ट ट्रेसिङ) गरी ७९ जनाको स्वाब सङ्कलन गरिएको छ । तीनदिनमा पालिकाले स्वाब सङ्कलन गरेको हो ।
सङ्कलित स्वाब कोरोना भाइरस परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको भीमफेदी गाउँपालिकाका स्वास्थ्य संयोजक रामनाम थिङले जानकारी दिनुभएको छ । पालिकाले भदौ ६ गते भीमफेदी गाउँपालिका–८, इपामा १८ जना, भदौ ८ गते भीमफेदी–९, भदौरे र भीमफेदी–४, चिउरीबगैंचाका ४६ जनाको स्वाब सङ्कलन गरेको थियो । यस्तै आज भीमफेदी गाउँपालिका–१, सानुटारमा ५ जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य संयोजक थिङले जानकारी दिनुभएको छ ।
भीमफेदीमा हालसम्म ११ जना कोरोना भाइरस सङ्क्रमित पहिचान भएकोमा उनीहरुमध्ये ५ जना कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् । सक्रिय सङ्क्रमित ६ जना हेटौंडास्थित आइसोलेसन वार्डमा उपचाररत छन् । कोरोना सङ्क्रमितहरुको सम्पर्कमा रहेका व्यक्तिको स्वाब सङ्कलन गर्न पालिकाको स्वास्थ्यकर्मीको टोली सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको घरदैलोमै पुगेका थिए ।