हेटौँडा : जेन्जी आन्दोलनपश्चात पछिल्लो तीन महिनाको अवधिमा अवैध रूपमा ओसारपसार गरिएका ८५ वटा चौपाय (गाई–गोरु) सहित ६ वटा सवारी साधन र १० जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा सवारी साधन रोकी सुरक्षाजाँच गर्ने क्रममा अवैध रूपमा ल्याइएका चौपायासहित व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका चौपाया तथा व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि पशुसेवा कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार असोज ३० गते ७ वटा चौपाया, एउटा सवारी साधन र ३ जना, कात्तिक १३ गते २५ वटा चौपाया, एउटा सवारी साधन र १ जना, कात्तिक १९ गते २२ वटा चौपाया, एउटा सवारी साधन र ३ जनालाई नियन्त्रणमा लिएको थियो । यस्तै पुस १३ गते ५ वटा चौपाया, एउटा सवारी साधन र १ जना, पुस १४ गते ५ वटा चौपाया, एउटा सवारी साधन र १ जना नियन्त्रणमा लिएको प्रहरीले बिहीबार २१ वटा चौपाया, एउटा सवारी साधन र १ जना व्यक्ति नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार असोज ३० गते र कात्तिकको १३ र १९ गते नियन्त्रणमा लिएकोलाई मुद्दा दर्ता गरिएको छ भने बाँकीलाई जरिवाना गरिएको छ ।











