साहित्य संगम मकवानपुरले सार्वजनिक गरेको उत्कृष्ट १० कविताको सूचि ।

हेटौँडा : साहित्य सङ्गम मकवानपुरको आयोजनामा हुने राष्ट्रिय पर्या कविता प्रतियोगिताका लागि उत्कृष्ट १० कविता र कविहरुको नामावली प्रकाशन भएको छ । मंगलबार सङ्गमले प्रतियोगिताका लागि प्राप्त कवितामध्ये अन्तिम चरणको प्रतियोगिताका लागि छनोट १० वटा कविता र कविको नामावली प्रकाशन गरेको हो ।

प्रतियोगिताका लागि कुल १ सय ६४ वटा कविता प्राप्त भएको थियो । जसमध्ये छनोट भएका उत्कृष्ट १० वटा कविताले अन्तिम चरणको प्रतियोगितामा भाग लिने छन् । छनोट भएका कविताका लेखकहरु सुनसरीका किरन सिवा, मकवानपुरका किशन पौडेल र सुवास सजल रहेका छन् । यसैगरी तनहुँका नरोत्तम श्रेष्ठ, सिन्धुलीका निरुपम श्रेष्ठ, कास्कीका मदन घिमिरे, कैलालीका मोहित जोशी, काठमाडौंका यशोदा अधिकारी, धादिङका राजु झल्लुप्रसाद र लमजुङका सुरेशचन्द्र घिमिरेको कविता छनोट भएको हो ।

उत्कृष्ट १० मा पर्न सफल भएका कविहरुबीच पुस २६ गते अन्तिम चरणको प्रतियोगिता हुनेछ । प्रतियोगिता हेटौँडा–४ स्थित हेटौँडा पार्टी प्यालेसमा हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउने छन् भने चौथो र पाँचौं हुनेले प्रोत्साहन स्वरुप समान ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।