हेटौँडा : साहित्यकार तुलसी घिमिरेको कविता सङ्ग्रह ‘काव्यसुधा’ लोकार्पण गरिएको छ । साहित्य सङ्गम मकवानपुरको ३६२औँ नियमित साहित्य सन्ध्याको अवसरमा शनिबार साहित्यकार घिमिरेको कृति ‘काव्यसुधा’ को लोकार्पण गरिएको हो । लोकार्पण कार्यक्रममा कृतिमाथि घनश्याम घिमिरे र भावना सापकोटाले समीक्षा गर्नुभएको थियो ।
समीक्षक सापकोटाले कृतिमा समावेश कविताहरुमा वर्तमान समाजका मान्छेहरुमा मानवता तथा आत्मीयतामा कमि भएका कारण चिन्ता व्यक्त भएको बताउनुभयो । प्रकृति नै महान हो जस्ता भावबाट प्रेरित भएर कविता रचना गरिएको उहाँले बताउनुभएको छ । कविता संग्रहमा विदेश जाने युवा, एक्लिएका वृद्धवृद्धाहरु, समाजलाई योगदान गर्नेलाई समाजले नै महत्वहीन सोच्ने गरेको वास्तविकतालगायतका विषयहरु समयसापेक्ष महत्वपूर्ण रहेको सापकोटाले उल्लेख गर्नुभयो । समीक्षक घिमिरेले कविको चेतनशील मनले रचना गरिएका विवेकशील भावनाहरु पाठकले जस्ताको तस्तै ग्रहण गर्नुपर्ने बताउनुभयो । कृतिमा केही भाषागत तथा प्राविधिक त्रुटी रहेकोले यसलाई सुधार गर्न उहाँले रचनाकारलाई सुझाव दिनुभएको छ ।
साहित्य सङ्गम मकवानपुरद्वारा प्रकाशित ‘काव्यसुधा’ मा २३ वटा कविताहरु रहेका छन् । २०११ फागुन १५ मा बर्मा (हाल म्यानमार)को होम्लिनमा जन्मनुभएका साहित्यकार घिमिरे २०१९ सालमा भैरहवा आउनुभएको हो । साहित्यकार घिमिरे २०३६ सालदेखि हेटौँडा–२ मा स्थायी बसोबास गर्दै आउनु भएको छ । बुटवल हाइस्कुलमा आइएसम्म अध्ययन गर्नुभएका घिमिरेका यसअघि ‘फूलका कुरा जूनका कुरा’ गीत सङ्ग्रह (२०७१), ‘माटोको मोह’ कविता संग्रह (२०८०) र ‘घामका फूलहरु’ गजल सङ्ग्रह (२०८१) प्रकाशित छन् । आगामी दिनमा थप दुईवटा कृति प्रकाशन गर्ने तयारीमा रहेको घिमिरेले बताउनुभयो ।
कार्यक्रममा नियमित साहित्य सन्ध्या अन्तर्गत साहित्यकारहरु रामहरि शर्मा, सानुभाइ विश्वकर्मा, गौरी कँडेल, राम कार्की, किसन पौडेल, देवराज तिवारी, राजकुमार चौधरीले आफ्ना रचना वाचन गर्नुभएको थियो । हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य तथा सङ्गमका उपाध्यक्ष मनोज पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरु देवराज खरेल, डा. दिनेश बास्तोलालगायतको उपस्थिति थियो ।











