स्वर्ण जयन्ती मनाउने सन्दर्भमा शनिबार बिहान आयोजित छलफलमा सहभागीहरु ।

हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयले स्थापनाको ५० औँ वर्षको अवसरमा स्वर्ण जयन्ती मनाउने भएको छ । आगामी माघ २ गतेदेखि ८ गतेसम्ममा विविध कार्यक्रमको आयोजना गरी स्वर्ण जयन्ती मनाउने भएको हो । स्वर्ण जयन्तीको तयारीको क्रममा विद्यालयले शनिबार विद्यालयको हलमा पूर्वविद्यार्थी, शिक्षक र कर्मचारीहरुसँग छलफल गरेको छ ।

छलफलमा स्वर्ण जयन्ती समारोहमा विद्यालयसँग विगत र वर्तमानमा जोडिएका सबै पक्षलाई समेट्दै अपनत्व महसुस गर्ने गरी मनाउन र विद्यालयको भावी दीर्घकालीन योजनाको खाका बनाउन सहभागीहरुले सुझाएका छन् । कार्यक्रममा पूर्व विद्यार्थी एवम् बागमती प्रदेश सरकारका पूर्वमन्त्री एका लाल श्रेष्ठले सिद्धार्थ मावि यस क्षेत्रकै गौरवको शैक्षिक संस्था भएको उल्लेख गर्नुहुँदै स्वर्ण जयन्ती समारोह स्मरणीय बनाउन सबैको सहयोग र सहकार्य आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्याक परमानन्द सरोज कर्णले स्वर्ण जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो । स्वर्ण जयन्ती आयोजक मूल समारोह समितिका संयोजक एवम् वडाध्यक्ष विष्णुगोपाल महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय सञ्चालक समितिका पूर्वअध्यक्ष एवम् नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठ, पूर्वविद्यार्थी एवम् मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, विद्यालयका सहायक प्रधानाध्यमक रामशरण अधिकारी, विद्यालयको पूर्वप्रधानाध्यापक मोहन शर्मालगायत पूर्वविद्यार्थी, पूर्वशिक्षक, पूर्वकर्मचारीहरुले स्वर्ण जन्यती समारोह मनाउने सन्दर्भमा आफ्नो सुझावसहित धारणा राख्नु भएको थियो ।