वार्षिकोत्सवको अवसरमा पुरस्कृत विद्यार्थीहरु ।

मक्रान्चुली (मकवानपुरगढी) : मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीमा रहेको भानु माध्यमिक विद्यालयले विविध कार्यक्रम गरी ४९औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलप्रसाद चौलागाईको सभाध्यक्षता तथा गाउँपालिकाका प्रमुख दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यमा वार्षिकोत्सव समारोह भएको हो ।

वार्षिकोत्सवको समारोहमा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले विद्यालयको प्रशासनिक पक्ष, भौतिक पक्ष, गत वर्ष २०८१ सालको शैक्षिक उपलब्धि, शैक्षिक सत्र २०८२ सालको कक्षागत विवरण, हालसम्मको शैक्षिक कार्य, उपलब्धि लगायत विद्यालयको भावी कार्यक्रम तथा लक्ष्यहरू बारे जानकारी गराउनुभएको थियो । विद्यालयले आगामी दिनमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट नमूना विद्यालय विकास कार्यक्रमलाई निरन्तरता दिने, अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम क्रमशः कार्यान्वयन गर्न आवश्यक स्रोत व्यवस्थापन अभिभावक र स्थानीय निकाय समक्ष विशेष पहल गर्ने, अत्यावश्यक विज्ञान प्रयोगशाला स्थापना गर्ने, पुस्तकालयलाई अझ प्रभावकारी बनाउनका लागि स्रोत र साधनको व्यवस्थापन गर्ने, प्राथमिक तहदेखि नै कम्प्युटर शिक्षालाई निरन्तरता दिने लगायतका ४२ वटा योजनाहरू प्रधानाध्यापक थापाले प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयले हालसम्म माध्यमिक तहसम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन, अभिभावकहरूलाई अन्तरक्रिया, नतिजा फाइल निर्माण गरी अभिभावकलाई जानकारी गराइएको, सूचना प्रविधिको पहुँचबाट कुनै पनि विद्यार्थी वञ्चित हुन नपरोस् भन्ने विद्यालयमा इन्टरनेट जडान गरी दिनदेखिका विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गरी हाल ११ कक्षामा कम्प्युटरको विषय पठनपाठन भएको लगायतका उपलब्धिहरूबारे जानकारी प्रधानाध्यापक थापाले जानकारी गराउनुभयो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयका सेवानिवृत्त शिक्षक देवकी न्यौपाने र विष्णुबहादुर खड्कालाई सम्मान गरिएको थियो । यस्तै विद्यालयबाट सरुवा भई अन्यत्र विद्यालय जानुभएकी शिक्षिका अप्सरा बर्तौलालाई पनि सम्मान गरिएको थियो । विद्यालयले वर्षकै उत्कृष्ट अभिभावक, इसीडी कक्षाका शिक्षक, कक्षा आठ, एसईई र कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल विषय शिक्षकहरुलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवका अवसरमा विद्यालयको आगामी वर्ष हुने स्वर्ण महोत्सवका बारेमा समेत जानकारी गराएको छ । विद्यालयले निर्माण गरेको अक्षय कोषमा हालसम्म १ लाख ५१ हजार जम्मा भएको छ । अक्षय कोषमा जम्मा भएको रकमको व्याजबाट विद्यालयले गरिब, विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेछ । वार्षिकोत्सवको अवसर र दशैंको अवसरमा आयोजना भएको शिक्षक शिक्षिका भलिबल प्रतियोगितामा प्रथम हुनेलाई पुरस्कृत गरिएको छ । विद्यालयले इसिडिदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई मंगलबार र बुधबार विविध खेलकुद कार्यक्रमको आयोजना समेत गरेको थियो ।

विद्यालयले शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुनुभएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको छ । कार्यक्रममा पालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन, निवर्तमान अध्यक्ष बिदुर हुमागाई र इस्थर बेञ्जामिन स्मृति संस्थाका प्रमुख बुद्धवीर लामाको विशिष्ट आतिथ्य रहेको थियो । यस्तै पालिकाको ३ नम्बर वडाध्यक्ष भागवत घिमिरे, ४ नम्बर वडा अध्यक्ष अर्जुन तिमल्सिना, सामाजिक विकास शाखा प्रमुख आइत सिंह लो, विद्यालयका पूर्व प्रधानाध्यापक ध्रुवकुमार भुजेलको पनि आतिथ्य रहेको थियो ।