हेटौँडा उपमहानगरपालिका ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले पुस ११ गते शुक्रबारका लागि तोकेको नगर सभा अनिश्चित कालका लागि स्थगित भएको छ । मंसिर ११ गते बसेको ७५ औं नगर कार्यपालिका बैठकले पुस ११ गते दिउँसो १ बजे नगर सभा बोलाउने निर्णय गरेको थियो ।

नगर सभा अघि कार्यक्रम अनुमोदन गर्न बसेको कार्यपालिका बैठकले स्वीकृत भइसकेको योजना तथा बजेट संशोधन प्रक्रिया पूरा गर्न नसकेकोले हाललाई नगर सभा स्थगित गरिएको उपमहानगरपालिकाले जनाएको छ । गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमा आगजनी तथा तोडफोडबाट प्रभावित संरचना तथा उपकरणहरु पुनःनिर्माण गर्न बढी खर्च लाग्ने भएकोले यि खर्च जुटाउन निर्धारित बजेट तथा कार्यक्रमलाई कटौती तथा संशोधन गर्नुपर्ने छ । वडास्तरदेखि नगरस्तरीय योजना तथा कार्यक्रमहरुमा कटौती गर्न नसक्दा नगर सभा प्रभावित बनेको हो ।

नगरको अवस्था र कार्यक्रमबारे सहमति जुटाउनका लागि थप एक हप्ता लाग्न सक्ने हेटौँडा उपमहानगरपालिकाका अधिकारीको भनाइ छ । हरेक वडाहरुलाई समानुपातिक तवरले बजेट वितरण गर्नुपर्ने आवश्यकतालाई औँल्याउँदै सभाले अनुमोदन गर्ने बजेटका लागि गृहकार्य अझै नपुगेकोले सबै विषयगत समितिहरुमा तिव्रताका साथ छलफल भइरहेको बताइएको छ ।

नगर सभाले अत्यावश्यक तथा महत्वपूर्ण बाहेकका अन्य भौतिक संरचना निर्माणका योजना तथा बजेटहरु संशोधन गरेर अनुमोदन गर्ने तयारी भइरहेको छ । अब संशोधित बजेटमा उपमहानगरपालिकाको भौतिक क्षतिका क्षेत्रहरुमा पुनर्निर्माण गर्ने र कार्यक्रम रोक्न नमिल्ने योजना तथा कार्यक्रमहरुका बजेट रहनेछ भने बजेट संशोधनमार्फत कति योजनाहरु घटाइने भन्ने निश्चित भएपछि कार्यपालिकाको बैठकले एक हप्तापछि पुनः नगरसभा बोलाइने पनि एक वडाध्यक्षले बताए । यो बजेट संशोधनसँगै संघीय तथा प्रादेशिक रुपमा प्राप्त हुँदै आएका समानीकरण, समपूरक, सशर्त तथा विशेष अनुदानसहितका कार्यक्रममा संशोधन गर्न मन्त्रीपरिषद्को निर्णय अनुसार उपमहानगरपालिकाले यि कार्यक्रमहरु पनि प्रभावित हुनेछन् ।