वार्षिकोत्सवको उद्घाटन समारोहमा विद्यार्थीलाई पुरस्कार वितरण गर्नुहुँदै वडाध्यक्ष नवीन सिग्देल ।

हेटौँडा : हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयले ६०औं वार्षिकोत्सव (हीरक जयन्ती) को अवसरमा विविध कार्यक्रमको सुरुवात गरेको छ । सोमबारसम्म सञ्चालन हुने वार्षिकोत्सव समारोहको पहिलो दिन बुधबार उद्घाटन समारोह सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालको अध्यक्षता तथा वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा वार्षिकोत्सव समारोह उद्घाटन भएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयमा विद्यार्थी बीच विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिँदै छ भने

वार्षिकोत्सव उद्घाटन समारोहमा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । उद्घाटन समारोहमा विद्यार्थीले नृत्य कला प्रस्तुत गरेका थिए । वार्षिकोत्सवको अवसरमा जिल्लास्तरीय, नगरस्तरीय र विद्यालयस्तरीय विभिन्न कार्यक्रम आयोजना गरिँदैछ । वार्षिकोत्सवको अवसरमा विद्यालयले जिल्लास्तरीय शिक्षक हाजिरीजवाफ, जिल्लास्तरीय चित्रकला प्रतियोगिता, नगरस्तरीय छात्र फुटबल, वडास्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्नेछ । यसैगरी नृत्य प्रतियोगिता, पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रम, अभिभावक अभिमुखीकरणसहित विभिन्न खेलकुद र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने विद्यालयले जनाएको छ । विद्यालयले यसअघि दुई पटक वार्षिकोत्सव मनाएको र यो वर्ष हीरक जयन्तीको रुपमा मनाउने प्रधानाध्यापक श्रीराम दाहालले बताउनु भयो । हीरक जयन्ती समारोहमा हीरक जयन्ती स्तम्भ निर्माण गरिएको छ ।

श्रमिक माध्यमिक विद्यालयमा हाल ८ सय जना विद्यार्थी अध्ययनरत छन् । श्रमिक माविमा २१ जना सरकारी स्रोतका शिक्षक कार्यरत छन् भने १६ जना निजी स्रोतका शिक्षक कार्यरत छन् । विद्यार्थी संख्याका आधारमा अहिले नगरकै उत्कृष्ट १० विद्यालयभित्र पर्ने श्रमिक माविमा आगामी ३ वर्षभित्र एक हजार पाँच सय विद्यार्थी संख्या पु¥याउने लक्ष्य रहेको प्रधानाध्यापक दाहालले बताउनुभयो । वार्षिकोत्सव उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नरेन्द्रलाल रिजाल, विद्यालयका सल्लाहकार रामकृष्ण थापा, पूर्वविद्यार्थी समूहका अध्यक्ष सुरेश श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।