Home मुख्य समाचार आइसोलेसनमा कमजोर व्यवस्थापन

आइसोलेसनमा कमजोर व्यवस्थापन

मकवानपुर जिल्लाका कोभिड–१९ का विरामीको उपचारका लागि हेटौंडा–४, कर्रास्थित श्रमिक माविको भवनमा भएको एउटा मात्र आइसोलेसन अपुग भएपछि हेटौंडा–६, गौरिटारमा पनि सुरु भएको छ । खेलाडी छात्रावासका लागि बनाइएको भए पनि लामो समयदेखि सञ्चालन विहीन अवस्थामा रहेको भवन कोभिड सङ्क्रमितको उपचारका लागि आइसोलेसनका रुपमा प्रयोग हुन थालेको हो । विद्यालयमा भन्दा प्रयोगविहिन भएको सरकारी भवनको उपयोग स्वभाविक हो । तर लामो समयदेखि प्रयोग नभएको भवन आइसोलेसनका लागि कति उपयुक्त छ भन्ने परीक्षण गरिनु पर्ने हुन्थ्यो । त्यसैले बागमती प्रदेशका मुख्यमन्त्री, सामाजिक विकास मन्त्रीदेखि हेटौंडा उपमहानगरपालिकाका मेयरसम्मले पटक–पटक भवनको निरीक्षण गरेका थिए । चैत्रदेखि निरीक्षण गरिएको भवनमा भदौ लागेपछि मात्र आइसोलेसन सुरु भएको छ ।

खेलाडी छात्रावासका लागि बन्दै गरेको भवनमा आइसोलेसन वार्ड उपयुक्त छ छैन भन्ने कुरा प्राविधिक पक्ष हो । विरामीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार छन् छैनन् भन्ने कुरा महत्वपूर्ण पक्ष हो । भवनमा धारा, पानी, शौचालय लगायतको आवश्यक व्यस्था भए नभएको यकिन गर्नु आइसोलेसन व्यवस्थापन पक्षको जिम्मेवारी हो । यी सबै पक्षको मूल्याङ्कन गर्नका लागि हेटौंडा अस्पताल विकास समिति, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति लगायतले पनि अनुगमन गरेकै हो । तर पनि बिरामीका लागि आवश्यक सेवा सुविधामा केही कठिनाई भएका खबरहरु सार्वजनिक भएका छन् । यसले व्यवस्थापकीय पक्षको तयारी माथि प्रश्न उठाइदिएको छ । लामो समयसम्म पनि भवनमा आवश्यक व्यवस्थापन किन भएन ?

कोभिड–१९ को महामारी सुरु भएदेखि नै गौरिटारको छात्रावास प्रयोगमा ल्याउने भनियो तर तयारी नहुँदा अहिले हतारो जस्तो देखिएको छ । छ महिनासम्ममा नयाँ भवन नै बनाउन भ्याउने समय हो । तर निर्माण भइसकेको भवनमा केही अपुग कुराहरुको व्यवस्थापन किन हुन सकेन ? कर्राको आइसोलेसनमा विरामीहरु नअटेपछि मात्र गौरिटारको खेलकुद छात्रावास सरसफाई गर्न थालिएको हो । सरसफाई नसक्दै विरामीहरु राख्दा सेवामा कमजोरी देखिएको छ । समयको चापले तयारी नपुगेको हुँदै होईन यो त सम्बन्धित पक्षको हेलचेक्र्याइँ र बेवास्ता हो । लामो समय हुँदा पनि सङ्क्रमणको आँकलन गर्न नसक्दा अहिले विरामीले सेवा नपाएको विषय निकै चर्चामा छ । छ महिनासम्म छात्रावासलाई तयारी अवस्थामा राख्न नसक्नुको जिम्मेवारी आइसोलेसन व्यवस्थापनले लिनु पर्दछ ।

यस्तै स्थानीयसँग सहकार्यको पनि अभाव देखिएको छ । व्यवस्थापनका लागि स्थानीय तहका जनप्रतिनिधिसँगको सहकार्य जरुरी हुन्छ । खेलाडी छात्रावास हेटौंडा उपमहानगरपालिकाको ६ नम्बर वडामा पर्दछ भने १५ र १६ नम्बर वडाको सिमानामा छ । तर यी तीन वटै वडाका जनप्रतिनिधिहरुलाई कुनै खबर नभएको उनीहरुले सार्वजनिक रुपमै बताइसकेका छन् । स्थानीयले अपनत्व लिन उनीहरुसँग छलफलदेखि संलग्नता आवश्यक हुन्छ । अस्पताल विकास समितिदेखि उपमहानगरपालिका स्थानीयसँगको समन्वयमा कमजोर देखिएको छ । यसले तत्काल आइपर्ने समस्या समाधानमा उनीहरुको सक्रियताको खाँचो देखिएको हो । काम गर्दा कमजोरी हुन्छन् त्यसलाई सुधार गर्दै अगाडि नबढ्ने हो भने विश्वव्यापी महामारीबाट केही पनि अछुतो रहँदैन । त्यसैले कमजोरी सुधार गर्दै नागरिकको जीवनरक्षामा उचित व्यवस्थापन आजको खाँचो हो ।

Exit mobile version