हेटौँडा : श्रम तथा रोजगार कार्यालय हेटौँडामा न्युनतम पारिश्रमिक तथा समयमा पारिश्रमिक नदिएको भन्दै पारिश्रमिक दिलाइदिन ३४ वटा उजुरी परेका छन् । चालु आर्थिक वर्षको ५ महिनाभित्र ३४ वटा उजुरीहरु प्राप्त भएको कार्यालयले जनाएको छ ।

यस अवधिभित्र परेका उजुरीमध्ये सबै भन्दा बढी उद्योग प्रतिष्ठानहरुमा कार्यरत श्रमिकहरुको रहेको कार्यालयको जनाएको छ । उद्योग प्रतिष्ठानसहित सेक्युरिटी कम्पनी, यातायात, निर्माण कम्पनी, अस्पताल तथा नीजि विद्यालयममा कार्यरत शिक्षक, कर्मचारीको ऊजुरी रहेको कार्यालय प्रमुख रुद्र नारायण साहले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा व्यक्तिगत ७२ वटा उजुरी प्राप्त भएको सामुहिक १९ वटा उजुरी परेका थिए । यि मध्ये व्यक्तिगत ४० वटा र सामुहिक १९ वटा गरी ५९ वटा उजुरीको कार्यालयका सूचना अधिकारी शर्मिला राईले जानकारी दिनुभयो । राईका अनुसार यसअधिको आर्थिक वर्ष २०८०/०८१ मा व्यक्तिगत ७४ वटा र सामूहिक ४ उजुरी परेका थिए ।

व्यक्तिगत ५६ वटा र सामूहिक ४ वटा उजुरी फछ्र्यौट भएको पनि उहाँले बताउनुभयो । कार्यालयमा न्यूनतम पारिश्रमिक नदिएको, समयमा पारिश्रमिक दिन रोकेको, सामाजिक सुरक्षाकोषमा रकम दाखिला नगरेका एकमुष्ट उजुरीहरु आउने क्रम बढेको कार्यालय प्रमुख साहको भनाइ छ । यस्तै बालश्रम दुरुपयोगसम्बन्धी उजुरी तथा अनुगमन समेत कार्यालयमा हुने गरेको छ । यस आर्थिक वर्षमा यस कार्यालयले ५ वटा बालश्रम दुरुपयोगका घटनाहरुको कानुनी उपचार गरेको जनाएको छ । बालश्रमका घटना परेका बालबालिकालाई जरिवाना, क्षतिपूर्ति र पारिवारिक पुनर्मिलनका लागि श्रम कार्यालयले समन्वय गर्दै आएको छ । कार्यालयमा आएका ९५ प्रतिशत घटनाका उजुरी बमोजिम रामेछाप, सिन्धुली जिल्लाबाट श्रम तथा रोजगारका विवादहरु समाधान गर्दै आएको छ । कार्यालयमा आएका ९५ प्रतिशत उजुरी बमोजिम कारबाही सम्पन्न हुने गरेको कार्यालयको दावी छ । हाल मकवानपुरसहित कार्यालयले चितवन, रामेछाप, सिन्धुली र धादिङ जिल्लाबाट श्रम तथा रोजगारका विवादहरु समाधान गर्दै आएको छ ।