हेटौँडा : बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अप्सरा बस्नेत नियुक्त हुनुभएको छ । उहाँलाई बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाज्यूले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आइतबार मुख्य न्यायाधिवक्ताका रुपमा नियुक्त गर्नुभएको हो । बस्नेत मुख्य न्यायाधिवक्ता नियुक्त हुनुहुने पहिलो महिला समेत बन्नु भएको छ ।
यसअघि बस्नेतलाई प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशको मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गर्न प्रदेश प्रमुख देवकोटा समक्ष सिफारिस गर्नुभएको थियो । आइतबार सूचना जारी गर्दै बस्नेतलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको हो ।
मुख्य न्यायाधिवक्ताको हैसियतमा बस्नेतले प्रदेश सरकारको तर्फबाट कानुनी सल्लाह प्रदान गर्ने, मुद्दा मामिलामा प्रतिनिधित्व गर्ने तथा संविधान र कानुन बमोजिमका अन्य दायित्वहरू निर्वाह गर्नु हुनेछ । मुख्य न्यायाधिवक्तामा नियुक्त बस्नेत जिल्ला बार मकवानपुरका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।
