हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाललाई नियुक्त गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । मकवानपुरको बकैया गाउँपालिकाका पूर्वअध्यक्ष खनाललाई मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको हो । खनाल नेपाली कांग्रेसको मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ को संघीय सभापति रहेका छन् ।
यसअघि मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा थिए । फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएपछि लामाले प्रमुख सल्लाहकारको पदबाट राजीनामा दिएका थिए । लामा निर्वाचनमा पराजित भए । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री प्रभात तामाङका अनुसार बैठकले बागमती प्रदेश विश्वविद्यालयको संरक्षक सदस्यमा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति डा. प्रेमनारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले सूचना प्रतिवेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी र सदस्यमा मकवानपुरका अशोकसुजन श्रेष्ठलाई मनोनयन गरेको उनले बताए ।
बैठकले सामाजिक विकास मन्त्रालयमा कार्यरत प्रदेश सचिव खुविराम अधिकारीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत थप जिम्मेवारी हेर्ने गरी खटाउने निर्णय गरेको छ । यसअघि सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका बाबुराम पुरीलाई सो मन्त्रालयको जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मात्र जिम्मेवारी तोकिएको छ ।
बैठकले नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शंख बुद्ध लामालाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता तामाङले बताए । बैठकले प्रदेशको ११औं तहमा कार्यरत स्वास्थ्य सेवाका डा. अर्जुनप्रसाद सापकोटाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ भने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी दामोदर केसीले स्वास्थ्यका कारण दिएको राजीनामा माघ ५ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्री तामाङका अनुसार बैठकले जेनजी आन्दोलनको क्रममा जलेका कार्यसम्पादन मूल्यांकन व्यवस्थापनका लागि नयाँ नीति पारित गरेको छ । बैठकले गरिबी निवारण नीति २०८२ र शैक्षिक छात्रवृत्ति निर्देशिका २०८३ लाई स्वीकृति प्रदान गरेको छ । बैठकले प्रदेश पर्यटन (पहिलो संशोधन) ऐन २०८२ को मस्यौदा र प्रदेश राष्ट्रिय वन ऐन (पहिलो संशोधन) २०८३ लाई प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति (पहिलो संशोधन) गठन आदेश २०८२ र आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्थानीय तहहरुलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।
