हेटौँडा : सवारी दुर्घटनामा परेर चितवन र सिन्धुलीमा दुई जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बुधबार चितवनको कालिका नगरपालिका–८, न्युरेनीमा अटोबाट लडेर एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिकाको ८ नम्बर वडा कार्यालयबाट जुटपानीतर्फ जाँदै गरेको ना २ ह २२३७ नम्बरको अटोबाट लडेर कालिका–९, शक्तिखोरकी ५५ वर्षीय फुलमाया परियारको मृत्यु भएको हो । परियार अटोबाट आर्लिने क्रममा लडेर घाइते भएकी थिइन् । भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा दिउँसो १ बजेर २० मिनेटको समयमा उपचारको क्रममा फुलमायाको मृत्यु भएको प्रहरीले जनाएको छ । अटो र अटोचालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–४, ढुग्रेबासमा सवारी दुर्घटनामा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । बुधबार बिहान वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा कमलामाई–६, लक्ष्मणचोकका ४० वर्षीय जित बहादुर स्याङ्वोको मृत्यु भएको हो । प्रहरीका अनुसार गत चैत २५ गते कमलामाई–४ स्थित विपी राजमार्गमा चियाबारीबाट ढुंग्रेबासको ग्यारेजतर्फ जानका लागि मोड्दै गरेको बा ४ ख ९५७७ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ज ३ प ७४९० नम्बरको मोटरसाइकल एकआपसमा ठेक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परेर स्याङ्वो घाइते भएका थिए ।
