Home मुख्य समाचार मकवानपुरमा एसईईको उत्तरपुस्तिका परीक्षण सकियो

मकवानपुरमा एसईईको उत्तरपुस्तिका परीक्षण सकियो

हेटौँडा : मकवानपुर जिल्लाबाट एसईईको उत्तरपुस्तिका परीक्षण गरेर केन्द्रमा पठाइएको छ । गत चैत ३० गते नै शिक्षा विकास तथा समन्वय इकाईले राष्ट्रिय परीक्षा बोर्डलाई एसईईको उत्तरपुस्तिका परीक्षण गरेर विद्यार्थीको प्राप्ताङ्क पठाएको जनाएको छ ।

एसईईमा मकवानपुरमा २८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । २८ वटै परीक्षा केन्द्रमा परीक्षा सुरु भएकै दिनदेखि उत्तरपुस्तिका परीक्षण गरेर विद्यार्थीको प्राप्ताङ्क पठाइएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले जानकारी दिनुभयो । चैत १९ गतेबाट सुरु भएको एसईईमा साधारणतर्फको परीक्षा चैत २६ गते सकिएको थियो भने प्राविधिक धारको परीक्षा चैत २९ गते सकिएको थियो ।

मकवानपुर जिल्लाबाट नियमित र ग्रेडवृद्धि गरी ६ हजार ६ सय भन्दा बढी विद्यार्थी सहभागी भएका छन् । एसईईको नतीजा बैशाख महिनाभित्रै सार्वजनिक गर्ने सरकारको लक्ष्य छ । मकवानपुर जिल्लामा ३७ वटा संस्थागत विद्यालय र १ सय ५ वटा सामुदायिक विद्यालयबाट एसईईमा विद्यार्थी सहभागी भएका थिए ।

Exit mobile version