हेटौँडा : नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य बद्रीप्रसाद लम्सालले सक्रिय छाडेर स्वतन्त्र रहने घोषणा गर्नु भएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुक स्टाटस मार्फत आफ्ना इतिहास उल्लेख गर्दै सक्रिय राजनीति र पार्टीबाट बिदा लिने घोषणा गर्नुभएको हो । उहाँले राजनीतिमा लाग्दाका क्षणहरुबारे उल्लेख गर्नुहुँदै पार्टीमा गुटबन्दी गर्नुभन्दा स्वतन्त्र हुनु बेस भएको उल्लेख गर्नुभएको छ ।
समृद्ध समाजसँग कुरा गर्दै लम्सालले हिजो एमालेको मात्र नभई जनताको स्वतन्त्रताका लागि सक्रिय भएको र अब नयाँ व्यक्तित्वहरुलाई दलमा सक्रिय हुने मौका दिनुपर्ने विचारले राजनीतिबाट बिश्राम लिन चाहेको बताउनुभयो । राजनीतिक दलमा आबद्धता नजनाए पनि सामाजिक क्षेत्रका काममा भने सक्रिय नै रहने उहाँले बताउनुभयो ।
लामो समय एमालेमा आबद्ध लम्साल हाल मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समिति दोस्रो कार्यकालका लागि सदस्य रहनुभएको छ । यस्तै राष्ट्रिय सहकारी महासंघ संचालक समिति सदस्य हुनुहुन्छ भने हेटौँडा–११ स्थित शहिद स्मारक विकास समितिमा स्थापनादेखि नै सदस्य रहनुभएको छ । आफू संग्लग्न संघ, संस्थामा निरन्तर सक्रिय रहने लम्सालले बताउनु भएको छ ।
लम्सालले २०५४ सालदेखि २०५९ सम्म तत्कालिन जिल्ला विकास समितिको उपसभापति हुँदै एमालेबाट २०६४ मा संविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर २ बाट उम्मेदवार हुनुभएको थियो । उहाँ तत्कालिन माओबादीका दिल बहादुर घिसिङबाट पराजित हुनुभएको थियो । यस्तै तत्कालीन सुकुम्बासी आयोगको अध्यक्ष समेत रहनु भएको थियो ।
