हेटौँडा : बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले चैत महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले सोमबार सावर्जनिक गरेको विवरणअनुसार अघिल्लो महिनाको तुलनामा प्रदेशमा अपराधको घटना बढेको छ । प्रहरीका अनुसार फागुन महिनामा प्रदेशभर कुल ४ सय ५ वटा अपराधका मुद्दा दर्ता भएको थियो भने चैत महिनामा ५ सय ५१ वटा अपराध भएको छ । यस्तै, माघ महिनामा प्रदेशभर कुल ३ सय ८८ वटा अपराधका मुद्दा दर्ता भएको थियो ।
चैत महिनामा दर्ता भएका मुद्दाहरुमध्ये सबभन्दा बढी जघन्य तथा गम्भिर अपराधका २ सय ९४ वटा रहेका छन् । यसैगरी आर्थिक अपराधका एक सय १० वटा, महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराध २९ वटा र अन्य अपराधका एक सय १८ वटा मुद्दा दर्ता भएका छन् । यी मुद्दाका ४ सय ५५ जना प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले यस अवधिमा फैसला कार्यान्वयन भई विभिन्न मुद्दाका ३ सय ७८ जना प्रतिवादीलाई पक्राउ गरी कुल २ करोड २८ लाख ५६ हजार ३ सय १९ रुपैयाँ जरिवाना रकम असुल गरेको छ । कार्यालयको तथ्याङ्कअनुसार चैत महिनामा ७४ जना महिला, ३४ जना पुरुष, ४५ जना बालिका, २५ जना बालक र ८ जना ज्येष्ठ नागरिक (पुरुष) गरी प्रदेशका कुल १ सय ८६ जना हराएका छन् । हराएकाहरुमध्ये ४४ जना महिला, ३७ जना बालिका, २० जना बालक, १७ जना पुरुष र ७ जना ज्येष्ठ नागरिकलाई खोज्न प्रहरी सफल भएको छ भने बाँकीको खोजतलास जारी छ ।
एक महिनाको अवधिमा कार्यालयमा एक हजार ८ सय १३ वटा निवेदन प्राप्त भएको छ, । जसमध्ये सिधै प्रहरी कार्यालयमा एक हजार ४ सय ८६ वटा र प्रशासन कार्यालयबाट ३ सय २७ वटा निवेदन प्राप्त भएको हो । चैत महिनामा सबभन्दा बढी घरेलु हिंसाको ७ सय ५९ वटा निवेदन प्राप्त भएकोमा ५ सय ५७ वटा मिलापत्र भइसकेको, एक सय ३६ वटा अदालतमा रहेको छ भने ७ वटा निवेदनका पीडितहरु सम्पर्कमा आउन सकेका छैनन् । लागूऔषध नियन्त्रणतर्फ प्रहरीले चैत महिनामा ठूलो सफलता प्राप्त गरेको जनाएको छ । प्रहरीले ४ सय ३१ किलो गाँजा, ३ किलो ६७८ ग्राम अफिम, ९९ ग्राम ५२० मिलिग्राम चरेश र १२१ ग्राम ७ मिलिग्राम खैरो हिराइन बरामद गरेको छ । यसैगरी, ४ हजार २ सय ३९ वटा ट्रमाडोल क्याप्सुल, एक हजार ५ सय ५० वटा अनार्गन ट्याब्लेट, एक हजार ३ सय वटा भोमिन–२५ ट्याब्लेटसहित विभिन्न लागूऔषध बरामद गरेको छ । लागूऔषध कारोबारमा संलग्न एक सय ६२ जनालाई पक्राउ गरी ८० वटा मुद्दा दर्ता गरिएको छ ।
घरेलु मदिरा नष्ट गर्ने अभियान अन्तर्गत प्रहरीले ९ हजार ३ सय ७२ लिटर मदिरा, २ हजार ८ सय २ लिटर कच्चा पदार्थ र १ हजार ६ सय ५३ किलो मर्चा नष्ट गरेको छ । यसैगरी विभिन्न स्थानमा सञ्चालित २६ वटा मदिरा भट्टी नष्ट गरिएको छ । चैत महिना प्रदेशभरमा कुल ६९ जनाले आत्महत्या गरेका छन् । यसअघि फागुन महिनामा ६७ जना र माघ महिनामा ६४ जनाले आत्महत्या गरेका थिए । पछिल्लो दुई महिनाको तुलनामा चैत महिनामा सवारी दुर्घटनामा कमी आएको छ । माघमा एक सय ५७ वटा र फागुन महिनामा एक सय ६३ वटा सवारी दुर्घटना भएकोमा चैत महिना एक सय ४२ वटा सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा परी ३० जनाले ज्यान गुमाएका छन् भने दुई सय ९५ जना घाइते भएका छन् ।
ट्राफिक नियम उल्लंघन गर्ने १० हजार ३ सय १२ वटा सवारीलाई करवाही गर्दा ९४ लाख ७३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, भन्सार छली गरी ल्याइएका १ करोड ७० लाख १ हजार ५ सय ८३ रुपैयाँ बराबरका सामान बरामद गरिएको छ भने सो कार्यमा संलग्न ७ जनालाई पक्राउ गरिएको छ । प्राकृतिक सम्पदा दोहनमा संलग्न ७४ सवारी साधनलाई कारबाही गरी १० लाख ५७ हजार रुपैयाँ राजश्व संकलन गरेएको छ । अवैध हातहतियारतर्फ १२ नाल भरुवा बन्दुक बरामद गरिनुका साथै ३ जनालाई पक्राउ गरिएको हो । प्रहरीले समुदायमा सचेतना फैलाउन लागूऔषध, ट्राफिक नियम र साइबर अपराधलगायतका विषयमा ८ सय २३ वटा जनचेतनामूलक कार्यक्रमहरूसमेत सञ्चालन गरेको प्रगति विवरणमा उल्लेख छ ।
