हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ अन्तर्गत मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । शनिबार बिहान २ बजेर ४० मिनेटको समयमा नवलपरासीबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ४४२७ नम्बरको सिमेन्ट लोड ट्रकले मुग्लिनबाट जुगेडीतर्फ आउँदै गरेको लु.प्र.०१–००८ प ६२९३ नम्बरको स्कुटरलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा स्कुटर चालक तनहुँको भानु नगरपालिका–८ घर भएका ३२ वर्षीय अनिष नेपाल गम्भीर घाइते भएका थिए । घाइते नेपाललाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा बिहान ३ बजेर ३० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ट्रक र ट्रक चालक धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–६ का २४ वर्षीय रबिन बल तामाङलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।










