हेटौँडा : मकवानपुर छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–५ दमारस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ११ बजेको समयमा दमारबाट भीमफेदीतर्फ आउँदै गरेको लु ६८ प १६६३ नम्बरको मोटरसाइकल ब्रेक लगाउँदा चिप्लिएर अनियन्त्रित भई पल्टिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा रौतहट प्रवाह नगरपालिका–३ का २५ वर्षीय चालक प्रभास कुमार कुसुवाह र मोटरसाइकलमा पछाडि सवार भीमफेदी–३ पान्द्राङकी १८ वर्षीया यमुना लामा घाइते भएका थिए । घाइते दुवैको हेटौँडा अस्पतालमा उपचार भई रहेको छ ।

यस्तै, हेटौँडा–१९ बस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा भारतीय ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् । शुक्रबार साँझ ७ बजेर ३० मिनेटको समयमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बीआर ०९ जिसी ३५५० नम्बरको भारतीय ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००६ प ४३०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा राक्सिराङ गाउँपालिका–२ भाँटीका २१ वर्षीय सुदीप थिङ र २५ वर्षीय मनोज मोक्तान घाइते भएका थिए । घाइते दुवैको चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको छ । ट्रक चालक भारत देशका ४० वर्षीय गोपाल साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेटौँडा–३ बसामाडीस्थित सरस्वती पेट्रोल पम्प अगाडि मोटरसाइकल र कार ठोक्किँदा एक जना घाइते भएका छन् । शुक्रबार राती ९ बजेको समयमा हेटौँडाबाट लेवर्टतर्फ आउँदै गरेको ना ३७ प ८१९४ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा ११ च ३३४५ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा हेटौंडा–११ थानाभ¥याङका ५२ वर्षीय यम कुमार विक घाइते भएका छन् । उनको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । कार चालक रामेछाप जिल्लाको ठाडोदेवी गाउँपालिका–९ का २३ वर्षीय जिवन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।