रेडियोमा युवाको आकर्षणको विषयक प्यानल बहसमा सहभागीहरु ।

सौराहा (चितवन) : सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १९ औं वार्षिक साधारण सभा तथा सामुदायिक रेडियो सम्मेलन सुरु भएको छ । शुक्रबार पहिलो दिन ‘सामुदायिक रेडियोको दिगोपन ः प्रविधिगत परिवर्तन, समुदायसँगको सम्बन्ध र भविष्यका बाटाहरु’ विषय केन्द्रित बहस भएको छ ।

चितवन जिल्लाको सौराहामा सुरु भएको सम्मेलनमा देशभरबाट २ सय भन्दा बढी प्रतिनिधि सहभागी छन् । सम्मेलनमा सहभागी रेडियोकर्मीले रेडियोको दिगोपनाका चुनौति र सम्भावनाका विषयमा आफ्ना धारणा राखेका छन् । रेडियोकर्मीले रेडियोको प्रयोग बढाउन रेडियोमा प्रसारण हुने सामग्रीमा गुणस्तर कायम गर्न जरुरी रहेको औँल्याएका छन् । रेडियाको पहूँच र प्रसारण क्षेत्र सहरदेखि ग्रामीण क्षेत्रसम्म रहेकोले गुणस्तरीय र उपयोगी सामग्री तयार पार्न सके स्रोताले रेडियोलाई उपयुक्त माध्यमको रुपमा प्रयोग गर्ने रेडियोकर्मीको भनाइ थियो ।

बहसका क्रममा रेडियोकर्मीले रेडियोको विकल्पमा अरु कुनै माध्यम प्रभावकारी भएको नभई रेडियोमै स्रोतालाई आकर्षित गर्ने सामग्री नभएको जीकिर गरेका थिए । रेडियोको दिगोपनको सन्दर्भमा सामुदायिक रेडियो प्रसारकहरुको विश्व संगठन अमार्क एसिया प्यासिफिक क्षेत्रका अमार्कका उपाध्यक्ष सुवास खतिवडाले सहजीकरण गर्नुभएको थियो । अमार्क एसिया प्यासिफिक क्षेत्रका अध्यक्ष रामनाथ भाटले रेडियोका चुनौति र अवसरका बारेमा बताउनुभएको थियो । अमार्क एसिया प्याफिकका नेपाल निर्देशक सुमन बस्नेतले इन्टरनेट र मोबाइल फोनको प्रयोगकर्ता सहर केन्द्रित रहेको र अझै ग्रामीण क्षेत्रमा ठूलो जनसमुदाय रेडियोमै निर्भर रहेको उल्लेख गर्नुभयो ।

यस्तै शुक्रबार नै रेडियो सम्मेलनअन्तर्गत रेडियोमा नयाँ (युवा) पुस्ताको आकर्षणको विषयमा प्यानल छलफलको आयोजना गरिएको थियो । अकोराब केन्द्रीय समिति सदस्य गीता चिमरियाले सहजीकरण गर्नुभएको प्यानल छलफलमा सहभागी स्रोता प्रतिनिधि युवा सक्षम ज्ञवालीले आफ्ना लागि उपयोगी सामग्री नभएकै कारण, घरमा पनि अरु कसैले रेडियो प्रयोग नगरेका कारण रेडियो सुन्ने अवस्था नभएको बताउनुभयो । उहाँले युवा पुस्ता रेडियो माध्यममा रोजगारीका लागि आकर्षित नहुनुमा आर्थिक रुपमा राम्रो आम्दानी हुने अवसर नहुनु प्रमुख कारण भएको बताउनुभयो ।

१८ वर्षदेखि गोरखा जिल्लामा रेडियो सञ्चालन गर्दै आउनुभएका दीपक श्रेष्ठले रेडियो नसुन्नुमा रेडियोमै समस्या भएको बताउनुभयो । स्रोतालाई उपयोगी सामग्री पस्कन नसक्नु नै रेडियो नसुन्नुको प्रमुख कारण भएको उहाँको भनाइ थियो । रेडियोले स्रोताका लागि उपयोगी र उनीहरुको रुचिको सामग्री तयार पार्न नसक्नु नै समस्या भएको उहाँले स्पष्ट पार्नुभयो । रेडियोमा काम गर्नेको भविष्य सुनिश्चित हुन नसक्नु नै नयाँ पुस्ताका युवा रेडियोमा आकर्षित नहुनुको प्रमुख कारण भएको श्रेष्ठले बताउनुभयो ।

चितवनबाट प्रसारण हुने रेडियो साहिनोकी समाचार प्रमुख पुनम थापा मगरले रेडियोमा नयाँ पुस्ता आए पनि एक साता पनि नटिक्ने बताउनुभयो । चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेले रेडियो प्रभावकारी माध्यम भएको, पर्यटनको विकासमा रेडियो माध्यमले सहयोगी भूमिका निर्वाह गरेको बताउनुभयो । चितवनको पर्यटन विकासमा रेडियोले उल्लेखनीय भूमिका निर्वाह गरेको घिमिरेको भनाइ थियो । सम्मेलनमा सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्जबाट स्टेशन म्यानेजर सुरेश श्रेष्ठ सहभागी हुनुहुन्छ । अकोराबको साधारण सभा आज शनिबार हुनेछ । साधारण सभाको उद्घाटन समारोह बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नुहुने अकोराबका अध्यक्ष अर्जुन गिरीले जानकारी दिनुभएको छ ।