हेटौंडा : जेनजी आन्दोलनको क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका एकतिहाइ कैदीबन्दी अझै बाहिरै रहेका छन् । कारागारबाट भागेका कैदीबन्दीहरु मध्ये करिब ६७ प्रतिशतमात्र फिर्ता भएका हुन् ।

गत भदौ २३ र २४ को जनेजी आन्दोलनको क्रममा भीमफेदी कारागार तोडेर भागेका ४ सय ४० जना कैदीबन्दीमध्ये मंसिर मसान्तसम्म २ सय ७९ जना कैदीबन्दी सोही कारागारमा फर्किएका हुन् । त्यहाँका १७ जना कैदीबन्दीहरु अन्य कारागारमा उपस्थित हुन पुगेका छन् । अब कारागारमा १ सय४४ जना कैदीबन्दीहरु फर्किन बाँकी रहेको कारागार प्रशासक सुवास पौडेलले जानकारी दिनुभयो ।

हाल ७४ जना अन्य कारागारबाट भागेकाहरु पनि भीमफेदी कारागारमार्फत् उपस्थित भई फिर्ता भएका छन् । गत भदौमा यस कारागारमा १ हजार ६६ जना कैदीबन्दी रहेकामा ४ सय ४० जनाले जेनजी आन्दोलनको क्रममा कारागार तोडेर भागेका थिए । भागेकामध्ये ३९ जना भारतीय कैदीबन्दी रहेका थिए । भारतीय नागरिक कैदीबन्दीहरुमध्ये १३ जना कारागार फर्र्किएको कारागार प्रशासनले जनाएको छ । हाल कारागारमा ९सय ५९ जना कैदीबन्दीहरु रहेका छन् ।

आन्दोलनको क्रममा भागेर नफर्किएका कैदीबन्दीहरुलाई खोजी गर्ने कार्यलाई तिव्रता दिइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । उहाँले जिल्ला स्तरमा सुरक्षा निकाय, कारागार तथा प्रशासनलगायतका सरोकार पक्षहरुँग बैठक बसी कैदीबन्दी को ठेगाना रहेका स्थानीय तहदेखि वडासम्म भागेका कैदीबन्दीबारे जानकारी पठाइ समन्वयको लागि अनुरोध गर्दै आएको जानकारी दिनुभयो । कतिपय कैदीबन्दीहरु जनप्रतिनिधिको सहयोगले नै कारागार फर्काउन सफल भएकोसमेत सहायक प्रमुख जिल्ला अधिकारी जोशीले स्पष्ट पार्नुभयो ।

गत असोज ५ गते प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को निर्णयले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोग घोषणासँगै सबै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय कैदीबन्दी खोजी कार्यदलसमेत घोषणा भएको थियो । यसपछि गृह मन्त्रालयले हातहतियार तथा खरखजाना बुझाउने म्यादसमेत तोकेर अपिल गरेको थियो ।

मकवानपुरमा हातहतियारको सम्बन्धमा समस्या नभएपनि भागेका कैदीबन्दी फर्काउन भने प्रशासनलाई सकस भइरहेको छ । भागेका कैदीबन्दी र लुटिएका हातहतियारको कारण फागुन २१ मा तोकिएको निर्वाचन भयमुक्त वातावरण सम्पन्न गर्न चुनौती बन्दै गएको परिस्थितिमा कैदीबन्दी लुकेर बस्ने क्रमले सुरक्षा संयन्त्रलाई चुनौती झनै थपिएको छ ।