हेटौँडा : हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तार विरुद्धको रिट माथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । हेटौँडा उपमहानगरपालिका र सडक डिभिजन कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी चढेको हो ।
रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसाकार समेतले दायर गरेको उक्त रिट माथि सर्वोच्चको इजलाश नम्बर ६ को (च) नम्बरमा रिट निवेदन माथि सुनुवाई हुनेछ । सर्वोच्चका न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा उक्त मुद्धाको पेशी तोकिएको हो ।
नेतृ कंसाकार लगायतका निवेदकहरुले हेटौँडा बजार क्षेत्रको सडक विस्तार विरुद्ध गत मंसिर १६ मा मुद्धा दर्ता गरेका थिए । सडक सिमा क्षेत्र २५-२५ मिटर (हाल २५-२५ गज) भित्रको संरचना हटाएर सडक विस्तार गर्दा व्यक्तिगत सम्पत्तीमा हस्तक्षेप भएको भन्दै उक्त रिट दर्ता गरिएको थियो । उक्त रिट माथि मंसिर १९ मा सर्वोच्चले अल्पकालीन आदेश जारी गरेको थियो । मंसिर १९ गतेः न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गर्दै तत्कालका लागि निवेदकको संरचना नभत्काउन वा यथास्थितिमा राख्न ‘अल्पकालीन अन्तरिम आदेश’ जारी गरेको थियो । साथै, अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो ।
त्यस्तै मंसिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले ‘अन्य आदेश’ गरेको थियो । उक्त आदेश अनुसार सो मुद्धासंग सम्बन्धीत मिसिल झिकाउने आदेश गर्दै आज (पुस २ का) लागि पेशी तोकेको थियो ।
उक्त मुद्धामा निवेदकले डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाएका छन् ।
हेटौंडा बजार क्षेत्रको सडक विस्तारको लागि सडक डिभिजन कार्यालय हेटौंडाले मंसिर ५ मा सडक सिमा आलि गर्न १५ दिने सूचना जारी गरेको थियो भने मंसिर २० मा प्रशासनबाट प्रहरी परिचालन गरि ७ किलोमिटर क्षेत्रको ५०० बढी घरहरु जेसीवी प्रयोग गरेर भत्काएको थियो ।











