हेटौँडा : हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा भवन निर्माणका लागि शिलान्यास गरिएको छ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारीले शुक्रबार बिहान भवन निर्माण कार्यको सुरुवातको रुपमा शिलान्यास गर्नुभएको सहायक क्याम्पस प्रमुख संगम चौलागाईले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि २ करोड ७८ लाख ७७ हजार ८ सय ३८ रुपैयाँ विश्वविद्यालय अनुदान आयोगको रहनेछ भने क्याम्पसले १ करोड ३९ लाख ३८ हजार ९ सय १९ रुपैयाँ व्यहोर्ने सहायक क्याम्पस प्रमुख चौलागाईले जानकारी दिनुभयो । उच्च शिक्षा सुधार परियोजना अन्तर्गत विश्वविद्यालय अनुदान आयोगले बजेट उपलब्ध गराएको हो । कात्तिक २७ गते निर्माण सम्झौता भएको भवन २०८२ साल चैत ३० मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । भवन निर्माणको ठेक्का काठमाडौंको बानेश्वरस्थित पाइनस कन्स्ट्रक्सनले पाएको छ । निर्माण हुने भवन मकवानपुर बहुमुखी क्याम्पसको शैक्षिक भवनको रुपमा प्रयोग हुनेछ ।
भूमिगत एक तल्ला र माथि २ तल्ला निर्माण हुनेछ । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष समेत रहनुभएका भवन निर्माण तथा खरिद समितिका अध्यक्ष अशोक शाक्यको अध्यक्षतामा भवन शिलान्यास कार्यक्रम भएको हो । भवन निर्माणका ४ करोड १८ लाख १६ हजार ७५८ रुपैयाँमा सम्झौता भएको छ । शिलान्यास कार्यक्रममा क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष डोरमणि पौडेलको पनि आतिथ्य रहेको थियो ।











