नवनियुक्त प्रधानाध्यापक उपेन्द्र पौडेल ।

हेटौँडा : हेटौँडा–७ स्थित नवज्योति माविको प्रधानाध्यापकमा उपेन्द्र पौडेल नियुक्त हुनुभएको छ । पौडेललाई बिहीबारबाट प्रधानाध्यापक नियुक्त हुनुभएको हो । एक साताअघि (मंसिर १९ गते) मात्रै हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयबाट सरुवा भएर नवज्योति मावि आउनुभएका पौडेलले विद्यालय व्यवस्थापन समितिको २१ गतेको सिफारिस अनुसार प्रधानाध्यापकको जिम्मेवारी पाउनुभएको हो ।

माध्यमिक तहको गणित विषयका स्थायी शिक्षक पौडेलले प्रधानाध्यापक भएपछि विद्यालयमा देखिएको कमजोर नतिजा सुधार गर्न आफू लागीपर्ने बताउनुभएको छ । विद्यालयमा अध्ययनरत कतिपय विद्यार्थी पाठ्य सामग्री समेत किन्न नसक्ने अवस्था रहेको, कक्षाकोठा अपुग रहेको पाइएकोले यसलाई सुधार ल्याउन वडा कार्यालय, उपमहानगरपालिका लगायतका सरोकारवाला संस्थाहरुसँग समन्वय गरी अघि बढ्ने नवनियुक्त प्रधानाध्यापक पौडेलले बताउनुभएको छ । उहाँले कमजोर नतिजा सुधार गर्न अतिरिक्त कक्षाहरु सञ्चालन गर्ने बताउनुभएको छ । यसअघि २०८१ भदौदेखि निमित्त प्रधानाध्यापकको जिम्मेवारीमा विमल गौतम कार्यरत हुनुहुन्थ्यो ।