हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ४ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रे, चितवन र धादिङ जिल्लामा मंगलबार ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
धादिङको थाक्रे गाउँपालिका–२ घले गाउँका ६२ वर्षीय श्यामबहादुर तामाङको गोरेटो बाटोबाट लडेर मृत्यु भएको छ । मंगलबार दिउँसो २ बजेर ३० मिनेटको समयमा घर नजिकैको गोरेटो बाटोमा हिँड्ने क्रममा बाटोबाट ५५ मिटर तल खस्दा तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ ।
चितवनको खैरहनी नगरपालिका–१, तरकारीचोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा टाटा सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । शनिबार साँझ ७ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १२ च ५२०४ नम्बरको टाटा सुमोले साइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । सुमोको ठक्करबाट रत्ननगर नगरपालिका–३, हाजिपुरका ६० वर्षीय कर्ना चौधरी गम्भीर घाइते भएका थिए । उनलाई स्थानीय बकुलहर अस्पतालमा सामान्य उपचार पश्चात थप भरतपुर अस्पताल रिफर गरिएको थियो । उपचारको क्रममा मंगलबार दिउँसो ४ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । सुमो चालक नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका–७ का २६ वर्षीय आशिष कुमार श्रेष्ठलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चितवन लगिइएको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेको पनौती नगरपालिका–१० पागेंटोलमा भित्री सडकखण्डमा टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजेर १५ मिनेटको समयमा खोपासीबाट बेथानचोकतर्फ जाँदै गरेको बा ५ ख ३५७१ नम्बरको टिपरले ठक्कर दिँदा ६१ वर्षीया सानु पहरी गम्भीर घाइते भएकी थिइन् । उनलाई बनेपास्थित शिर मेमोरियल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । उपचारको क्रममा राती ८ बजेर ५० मिनेटको चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । टिपर चालक मकवानपुरको कैलाश गाउँपालिका–१ बस्ने २७ वर्षीय सुशान्त योञ्जनलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ ।
काभ्रेको बनेपा नगरपालिका–११, सिनागालस्थित शारदादेवी सामुदायिक वनभित्र मानव कंकाल फेला परेको छ । मंगलबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा सेती काठको रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा नेपाली नागरिकता कंकाल सर्लाही जिल्लाको बागमती नगरपालिका–१ का २७ वर्षीय कान्छामान बोम्जनको फेला परेको छ । कंकालको पहिचान, मृत्युको कारणबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात कंकाल पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।











