हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाले प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने नाराका साथ विविध कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न गरेको छ । कैलाश–९ मा रहेको कालिका माविबाट सुरु भएको अभियान कैलाश–६ स्थित व्यास माविमा पुगेर सोमबार समापन गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटाले बताउनुभयो ।
८ देखि १२ कक्षासम्मका विद्यार्थी लक्षित अभियानमा पाँच सय जना विद्यार्थी प्रत्यक्ष संलग्न भएको उहाँले बताउनुभयो । समापन कार्यक्रममा कैलाश–२ मा रहेको कमलादेवी माविको विद्यालय व्यवस्थापन समितिका चन्द्र सारु मगरको सभाध्यक्षता तथा सामाजिक विकास समितिका संयोजक एवम् २ नम्बर वडाध्यक्ष राजेन्द्र घिसिङको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा वडा अध्यक्ष घिसिङले शिक्षा तेस्रो आँखा भएकोले शिक्षाबिना केही पनि गर्न नसकिने बताउनुभयो । बालविवाहले विकराल रुप लिँदै गइरहेको अवस्थामा बालबालिकालाई बालविवाह कानुनी अपराध हो भनेर बुझाउनुपर्ने उहाँले जानकारी दिनुभयो । उहाँले बालविवाहमात्र नभई हाम्रो समाजमा प्रविधिको दुरुपयोगले हिंसाको घटना बढिरहेकोले बालबालिका त्यसतर्फ सजग बन्न अनुरोध गर्नुभएकोे छ ।
कार्यक्रममा महिला तथा बालबालिका शाखाका प्रमुख सापकोटा, विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश परियार, शिक्षक प्रेमबहादुर नेगीलगायतको आतिथ्य रहेको थियो । विद्यालयका रामएकवाल यादव, प्रशिक्षक आशीष दुलाल, विद्यालयका शिक्षकहरुको आतिथ्य रहेको थियो ।
अभियान व्यास माविका विद्यार्थीहरुको सहभागितामा समापन गरिएको हो । यसअघि कैलाश–१० मा रहेको रत्नज्योति मावि, कैलाश–३ को भवानी मावि र कैलाश–८ को धुवाङ माविका विद्यार्थीहरुलाई प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने मुल भावका साथ कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख सापकोटाले बताउनुभयो ।











