हेटौँडा : बागमती प्रदेशको ४ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ४ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रे, चितवन, दोलखा र सिन्धुपाल्चोक जिल्लामा ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा एक जना वृद्ध आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा ७१ वर्षीय दलबहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान ९ बजेर ३० मिनेटको समयमा वृद्ध आफ्नै कोठामा मृत फेला परेका थिए । अनुसन्धानको क्रममा वृद्धलाई टिभी (क्षयरोग) रहेको खुलेको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात शव पोस्टमार्टमका लागि सरकारी अस्पताल भरतपुर लगिएको छ ।
काभ्रेको पनौती नगरपालिका–११ नेपानेछापमा रुखबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५४ वर्षीय रामसिंह तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान ९ बजेको समयमा तामाङ लप्सी टिप्ने क्रममा रुखबाट लडेर घाइते भएका थिए । घाइते तामाङलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीलाई जानकारी दिएका छ । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ थापागाउँमा घरको कोलासो (सिँढी) बाट लडेकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया नरमाया थापा रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार साँझ ५ बजेको समयमा घरमा सिँढीबाट लडेर नरमाया गम्भिर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएको थियो । उपचारको क्रममा मंगलबार बिहान ७ बजेर १० मिनेटको समयमा नरमायालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीलाई दिएको छ ।
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित बाबरी हाईड्रोपावरको सुरुङमा काम गर्ने एक कामदारको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–५ का ३९ वर्षीय शुक्रबहादुर राई रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बेलुका ७ बजेको समयमा सुरुङभित्र ड्रिल खोप्ने क्रममा ५ मिटर तल लड्दा राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि धुलिखेल शाखा अस्पताल भिमेश्वर–दोलखा लगिएकोमा प्रारम्भिक जाँच पश्चात चिकित्सकले मृत घोषणा गरेको प्रहरी जानकारी दिएको छ ।
