हेटौँडा : हेटौँडा–६ स्थित चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौँडा–६ स्थित सिटी प्यालेसमा सहकारीको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सहकारीका अध्यक्ष विजयकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन अनुुमोदन गरिएको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन र चालु आर्थिक वर्ष २०८२/०८३ का वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभयो । यस्तै, संस्थाका सचिव अर्जुनप्रसाद हुमागाईले १६ औँ साधारणसभाबाट पारित योजनाहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । सहकारी संस्थाका कोषाध्यक्ष सुभद्रा कोइरालाले आर्थिक प्रतिवेदनहरु प्रस्तुत गर्नुभयो ।
२ हजार ९ सय २६ जना शेयर सदस्य रहेको यस संहकारीको शेयर पुँजी २ करोड ९३ लाख ३० हजार ५ सय रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा २ करोड ७९ लाख ८२ हजार ५ सय २४ रुपैयँ रहेको छ । सहकारीले ३० करोड ९२ लाख ६७ हजार ५ सय ७२ रुपैयाँ ऋण लगानी गरेको छ । साधारणसभाको अवसरमा असल ऋणीको रुपमा महिलातर्फ सुशीलाकुमारी श्रेष्ठ र पुरुषतर्फ धनबहादुर सार्की सम्मानित भएका छन् । गतवर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका शिक्षा दुलाल र सुशान्त श्रेष्ठ सम्मानित भएका छन् । सोही अवसरमा दम्पत्ति सम्मानबाट ५ जनालाई सम्मान गरेको संस्थाले जनाएको छ ।
संस्थाले चालु आर्थिक वर्षमा प्रविधिमैत्री सेवा सुदृढीकरण र वित्तीय अनुशासनका साथै जोखिम व्यवस्थापनमा केन्द्रित भएर काम गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । कार्यक्रममा शेयर सदस्य, सञ्चालक समिति र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
