Home मुख्य समाचार जेन जी आन्दोलनका क्रममा पूर्व मुख्यमन्त्री पौडेलको घरमा आगजनी गर्ने २ जना...

जेन जी आन्दोलनका क्रममा पूर्व मुख्यमन्त्री पौडेलको घरमा आगजनी गर्ने २ जना पुर्पक्षका लागि कारागार चलान

हेटौँडा : बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको निजी निवासमा तोडफोड तथा आगजनी गरेको आरोपमा २ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । मकवानपुर जिल्ला अदालतले आइतबार आरोपित २ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

आइतबार मकवानपुर जिल्ला अदालतकी न्यायाधीश निर्मला शर्मा सुवेदीको एकल इजलासले आपराधिक उपद्रव कसूरको अनुसन्धान पश्चात पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । उक्त मुद्दामा पक्राउ परेका हेटौँडा–११ का ३७ वर्षीय सुरेन्द्र राना मगर र ३६ वर्षीय सुजन अधिकारीलाई कारागार पठाउने आदेश गरेको हो ।

अदालतको आदेश लगत्तै दुवै जनालाई कारागार कार्यालय भीमफेदी पठाइएको छ । गत भदौ २४ गते ‘जेन जी’ आन्दोलनको क्रममा हेटौँडा–११, नवलपुरस्थित पूर्व मुख्यमन्त्री पौडेलको निजी निवासमा ढुंगामुढा, तोडफोड तथा आगजनी भएको थियो । हेटौँडा–११, नवलपुरका ४५ वर्षीय सुशील पौडेल नाममा रहेको उक्त घरमा आगजनी तथा तोडफोड गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । सुशील पूर्वमुख्यमन्त्री पौडेलका छोरा हुन् ।

सो घटनामा संलग्न रहेको भन्दै प्रहरीले राना मगर र अधिकारीलाई कात्तिक २६ मा नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको अनुसन्धान पूरा गरी उनीहरु विरुद्ध ‘आपराधिक उपद्रव’ कसुरमा गत मंसिर १७ गते अदालतमा मुद्दा पठाएको थियो ।

Exit mobile version