हेटौँडा: पछिल्लो समय चर्चामा रहेको उपन्यास ‘निलो प्रेम’ का लेखक पुरुषोत्तम बजगाईं र पाठक बीच हेटौँडामा संवाद भएको हो । आइतबार हेटौँडा–४, भैरवरोडस्थित ‘किताबघर’मा लेखक बजगाई र पाठकबीच संवाद भएको हो ।
उपन्यासकार बजगाईँसँगको संवादका क्रममा पाठकहरुले उपन्यासमा आधारित भएर कुनै चलचित्र बन्छ की बन्दैन र आगामी दिनमा यस पुस्तको दोस्रो भाग आउँछ कि आउँदैन भन्ने जिज्ञासा राखेका थिए । उपन्यासको अन्त्य नखुलाइएको पाठकहरुको गुनासो रहेको थियो । उपन्यासको अन्त्य भए पनि कथाको अन्त्य नदेखिएकोले ‘निलो प्रेम’ को दोस्रो भाग आउने अपेक्षा पाठकको थियो । पाठकसँगको संवादमा उपन्यासकार बजगाईँले निलो प्रेम उपन्यासमा आधारित कुनै चलचित्र बनाउन इच्छुक नभएको र आगामी दिनमा यसको अर्को भाग आउने सम्भावना एकदमै कम रहेको धारणा राख्नु भयो । उहाँले कथाको अन्त्यको बारेमा आफू पनि अनविज्ञ रहेको बताउनु भयो । सबै प्रेमको अन्त्य शारीरिक सम्बन्धमा मात्रै गएर नहुने उपन्यासकार बजगाईँको भनाइ छ । यस उपन्यासमा वर्षा र प्रेम भन्ने दुई पात्रको प्रेम कहानीको चर्चा गरिएको छ ।
उपन्यासकार बजगाईँको पहिलो कृति हो । यसको पहिलो संस्करण २०८१ सालको चैतमा आएको थियो भने हालसम्म यो छैठौँ संस्करणसम्म आइपुगेको छ । कन्प्युटर सफ्टवेयर इन्जिनियर बजागाईँ अमेरिकामा बस्नुहुन्छ । काभ्रेपलाञ्चोकमा जन्मनु भएका उपन्यासकार उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुग्नुभएको हो । नेपाली भाषामा नयाँ पुस्ताकालाई आकर्षित गर्ने र नयाँ पुस्तालाई लक्षित गरेर यो उपन्यास लेखिएको उपन्यासकार बजागाईँको भनाइ छ । नेपाली युवा पुस्तामा पठन संस्कृतिको विकास गराउनका लागि उनीहरुकै कथा उनीहरुलाई नै पठाउने उद्देश्यले उपन्यास लेखिएको बजगाईँले स्पष्ट पार्नुभयो ।
